कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
829

जिल्ला स्वास्थ्य कार्यालय मातहतमा रहेका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण गरिएका छन । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले शनिबार गुलरियामा एक कार्यक्रमको आयोजना गरी जिल्लाका ५२ वटा स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख शंकरप्रसाद थारुमार्फत हस्तान्तरण गरिएका स्वास्थ्य संस्थामध्ये राजापुर नगरपालिकामा ८, गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिकामा ७/७ वटा, ठाकुरबाबा नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा ६/६ वटा र मधुवन नगरपालिकामा ५ वटा छन् ।

स्वास्थ्य संस्थाका फाइल हस्तान्तरणपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले शनिबारदेखि स्वास्थ्य संस्थाहरू औपचारिक रूपमा स्थानीय तह मातहतमा रहेको बताए । जिल्ला स्वास्थ्य मातहतमा काम गर्दै गरेकोलाई स्थानीय तहमा जाँदा सुरु सुरुमा तालमेल नमिल्न सक्ने बताउँदै धैर्यता साथ संवेदनशील भएर काम गर्नुपर्ने उनको भनाइ छ । “फरक परिवेश बीच सुरुमा काम गर्न केही असहज हुन सक्छ,” उनले भने, “धैर्यताका साथ आफूलाई आत्मनियन्त्रित गर्न जरुरी छ ।”
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्नका लागि आठ महिनाअघि परिपत्र गरे पनि विविध कारणले हस्तान्तरण गर्न कठिनाइ भएको उनले जानकारी दिए । त्यस्तै आफ्नो नगरपलिकामा रहेका ७ वटा स्वास्थ्य संस्थाका फाइल ग्रहण गर्दै बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले संघीयताको मर्मअनुसार सिंहदरबारको सेवा गाउँबाटै उपलब्ध गराउने सरकारको नीति अनुरुप जिल्लामा रहेका विभिन्न विषयगत कार्यालयहरू स्थानीय तहमै हस्तान्तरण भएर सेवा प्रवाह हुनुले राज्य र जनताबीचको दूरी घटने बताए ।
राष्ट्रिय दायित्वका साथ जिम्मेवारीबोधका साथ संवेदनशील भएर मानव सेवाको रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरूलाई उनले अनुरोधसमेत  गरे । “तपार्इंहरू इमान्दारी साथ आफ्नो दक्षताअनुसार काम गर्नुहोस्,” उनले भने, “हामी नीतिगत समस्या समाधान, बजेट ब्यवस्था र आवश्यक कुरा पूरा गर्न प्रतिबद्ध भएर लाग्छौं ।”राष्ट्रिय दायित्वका साथ जिम्मेवारीबोधका साथ संवेदनशील भएर मानव सेवाको रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरूलाई उनले अनुरोधसमेत  गरे । “तपार्इंहरू इमान्दारी साथ आफ्नो दक्षताअनुसार काम गर्नुहोस्,” उनले भने, “हामी नीतिगत समस्या समाधान, बजेट ब्यवस्था र आवश्यक कुरा पूरा गर्न प्रतिबद्ध भएर लाग्छौं ।”हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुले स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण हुँदा अवसर र चुनौती दुवै रहेको बताए । कर्मचारी, जनप्रतिनिधि सबैको प्रयत्नबाट ती चुनौती पूरा गर्न सहज हुने भएकाले सबैजना आआफ्नो ठाउँमा जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भए पनि जिल्ला स्वास्थ्य कार्यालय भने असारपछि मात्रै खारेज हुनेछ ।