रुकुममा औषधि अभाव
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४
505

जिल्ला अस्पताल सल्ले तथा स्थानीय तहका स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । स्वास्थ्य संस्थामा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल अधिकांश औषधि नै नभएको बताइएको छ । अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काै मूल्यमा औषधि किन्न बाध्य भएका छन् ।
जिल्लामा औषधि थोरै मात्रामा भए पनि निकट भविश्यमा जिल्लाभर औषधिको अभाव हुने संकेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुशील पोखरेलले बताए । उनका अनुसार जिल्ला अस्पतालमा औषधि खरिदका लागि बजेट नपठाएर स्थानीय तहलाई नै दिएको भए पनि स्थानीय तहबाट औषधि खरिद नहुँदा यस्तो समस्या भएको हो । स्टक औषधि करिब एक महिनाअघि सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्य चौकीहरूको भनाइ छ । स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा औषधि खरिदमा समस्या भएको बताइएको छ । रुकुम पश्चिममा एक जिल्ला अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र छन् । उनीहरूले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन् । बेलाबेलामा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधि आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।