क्षयरोग पहिचान गर्न ‘जिन एक्सपर्ट उपकरण’ प्रयोग गरिने
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४
404

जिल्लामा वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ ।
दुई घण्टामा नै क्षयरोगको पहिचान गर्न सकिने भएकाले नुवाकोटसहित अन्य जिल्ला रोगको ‘हब’ बन्दै गएकाले छोटो समयमा नियन्त्रण गर्न सक्षम हुने केसीले बताए ।
“रोग लागेको जानकारी लिन राजधानी जानुपर्ने बाध्यताले पहिचानमा कठिनाइ भएपछि जिल्लामा नै सेवा सुरु गर्न उपकरण उपलब्ध गराएका हौ ।” उनले भने, “सन् २०३५ सम्म क्षयरोग शून्यमा ल्याउने सरकारी लक्ष्य पूरा गर्न जिल्ला अस्पतालबाट पहिचान र उपचार पाउने भएपछि सम्भव बनाउन सहयोग पुग्दछ ।”
उनका अनुसार ३६ लाख पर्ने उक्त उपकरण क्षयरोगको पहिचान र उपचारका लागि अहिलेसम्मकै अत्याधुनिक प्रविधि मानिएको छ । “उपकरणको परीक्षण नतिजामा बिरामीले शंका गर्नु नपर्ने नभएकाले उपचारको लागि जिन एक्सपर्ट उपकरण विश्वासिलो माध्यमको रुपमा लिनुपर्ने,” केसीले बताए । निजी अस्पतालमा क्षयरोगको परीक्षण गराउन पाँचदेखि आठ हजारसम्म शुल्क लाग्ने हुँदा त्यो बिरामीको पहुँच बाहिर हुँदा रोग बल्झने गरेकाले अस्पतालबाट सेवा निःशुल्क हुने ब्यवस्थापन समितिका अध्यक्ष पारस अधिकारीले बताए ।
उनका अनुसार उपकरणमार्फत जाँच एवं परीक्षणका लागि केन्द्रको सहयोगमा दक्ष जनशक्ति उत्पादन गर्दै सेवा सञ्चालन सुरु भएको छ ।
जिल्ला अस्पताल त्रिशूलीले नुवाकोट र रसुवासहित धादिङका बिरामीलाई समेत सेवा प्रवाह गर्दै आएको छ । केन्द्रको तर्फबाट क्षयरोग उपचारमा सहयोग पुग्ने उपकरण बेलकोटगढी नगरपालिकामा एकथान माइक्रोस्कोप र जिल्लाको विभिन्न सात स्थानका स्वास्थ्य चौकीका लागि निबुलाइजर उपकरण समेत प्रदान गरिएको छ ।
उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा.केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई प्रदान गरेका छन् ।
-रामहरि न्यौपाने