कारोबार संवाददाता
शनिवार, श्रावण १७, २०७७
419

लमजुङ-कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लमजुङमा सञ्चालन गरिएका जिल्लास्तरीय करेनटाईन र आईशोलसनमा झण्डै ५० लाख रुपैयाँ रकम खर्च भएको पाइएको छ । जिल्लाको सदरमुकाम बेंसीसहर र सुन्दरबजारअन्तर्गत निर्माण भएका आइसोलेसन र करेन्टाइनमा गत आर्थिक वर्षको असार मसान्तसम्म ४९ लाख ९२ हजार ५ सय ३७ रुपैयाँ खर्च भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीका अनुसार आइसोलेसन र करेन्टाइन निर्माणदेखि त्यहाँ राखिएकाहरूको खाना बस्न र अन्य व्यवस्थापनमा सो रकम खर्च भएको हो । सीएमसीका अनुसार करेन्टाइन र आइसोलेसनमा आवश्यक वेड, फर्निचर, व्यक्तिगत सरसफाइका सामग्री स्यानिटाइजर, मास्कलगायत खाना र बस्नमा समेत सो खर्च भएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।

जिल्लामा आइसोलेसन र करेन्टाइन व्यवस्थापनका लागि स्थानीय तह र गण्डकी प्रदेश सरकारमार्फत ७८ लाख रुपैयाँ आएको थियो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले ३० लाख उपलब्ध गराएको थियो भने करेनटाईन व्यवस्थापनका निम्ति जिल्लाका आठवटा स्थानीय तहले ६÷६ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सीएमसीले जनाएको छ ।
सुन्दरबजारस्थित लमजुङ क्याम्पस परिसरमा यही जेठ–२ गतेबाट ५० शय्याको करेन्टाइन सञ्चालनमा ल्याइएको हो भने बेंसीसहरस्थित सहजीमा निर्माण गरिएको करेन्टाइन जेठ–११ गतेबाट सञ्चालनमा ल्याइएको हो ।
सो बाहेक सुन्दरवजारको बाल आदर्श मावि र भोटेओडारस्थित भक्ती नमुना माविमा करेन्टाइन निर्माण गरिएको छ । सुन्दर बजारकै नमुना सामुदायिक अस्पतालमा ३० शय्याको आइसोलेसन कक्ष निर्माण भएको छ ।
यसैगरी बेसीशहरको सहजी सँगै भकुण्डेस्थित बालकल्याण माविमा पनि जिल्लास्तरीय करेन्टाइन निर्माण भएको छ भने जिल्ला समन्वय समितिको सभाहलमा आइसोलेसन निर्माण भएको थियो । तर जिसस भवनको आइसोलेसन व्यवस्थापन गर्न कठिन भएपछि सहजी भवनको करेन्टाइनमा सारिएको छ । हाल सदरमुकाम बेसीसहरमा सहजी भवनमा ३० र जिल्ला सामुदायिक अस्पतालमा ४० गरी ७० शय्याको आइसोलेसन निर्माण भएको छ ।
सुरुमा सहजी करेन्टाइन बेसीसहर नगरपालिका अन्तर्गत वडा नम्वर ७ बाट व्यवस्थापन हुँदै आए पनि सो अघिको खर्च त्यसमा समावेश गरिएको छैन । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकको निर्णयअनुसार जिल्ला कमाण्ड पोष्टले व्यवस्थापन जिम्मा लिएपछि उक्त खर्च भएको बताइएको हो ।
सिएमसी बैठकको निर्णयअनुसार सुन्दरबजारअन्तर्गतका करेन्टाइनको निगरानी नेपाली सेनाको श्रीजङ गणले गरेको छ भने बेसीसहरको भकुण्डे करेन्टाइन र सहजी आइसोलेसनमा सशस्त्र प्रहरीले निगरानी गरेको छ । करेन्टाइनको सुरक्षा निगरानी सेना र सशस्त्र प्रहरीले गरे पनि त्यहाँभित्र हुने खर्च व्यवस्थापनका लागि भने छुट्टै समितिलाई जिम्मा दिइएको छ ।
सीएमसीले चालू आर्थिक वर्षको साउन महिनादेखि आइसोलेसन र करेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई बुझाउने भएको छ । सोही अनुरुप आइसोलेसन व्यवस्थापनको निम्ति प्रदेश सरकारबाट बेसीसहर नगरपालिका र सुन्दरबजार नगरपालिकालाई थप १५ लाख रुपैयाँ पठाएको सीएमसीले जनाएको छ ।

सन्देश पौडेल