मकरराज धामी
शनिवार, श्रावण १७, २०७७
589

केदारस्युँ गाउँपालिकाका दुई वडा शिल गरिँदै

बझाङ-शनिबार बझाङमा नौ महिने शिशुसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका ६४ जनामध्ये ८ जना बालबालिका छन् । सेती प्रादेशिक प्रयोगशाला धनगडी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार मात्र ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला धनगढीका अनुसार थलारा गाउँपालिकामा ९ महिने शिशुसहित ४ महिला र ५ पुरुष गरी १० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै मष्टा गाउँपालिकाका ६ वर्षकी बालिका र ४ वर्षका बालक गरी दुई जना, छविसथाथी भेरा गाउँपालिकाका दुई पुरुष र एक महिला गरी ३ जना, दुर्गाथली गाउँपालिकाका २ महिला र एक पुरुषसहित ३ जना र जयपृथ्वी नगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले जनाएको छ । योसँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ सय ६५ पुगेको छ ।
केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएपछि गाउँ कार्यपालिकाको बैठकले वडा नं ६ र ७ लाई शिल गर्ने निर्ण गरेको छ । संक्रमितहरू वडा नम्बर ६ र ७ का थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा गाँउका स्थानीय हुन । उनीहरू सबै असारको अन्तिम सातातिर भारतबाट नेपाल फर्किएको गाउँपालिकाले जनाएको छ । उनीहरू ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा बस्न घर पठाइएको थियो । होम क्वारेन्टाइनमा बस्न भनेको भए पनि उनीहरू गाउँघरमा घुमिरहेका थिए । कोरोना संक्रमण भएको खबर पाएपछि स्थानीय त्रसित बनेका छन् ।
गाउँपालिकाले वडा नम्बर ६ मा संक्रमण पुष्टि भएकाहरूलाई चन्द्रोदय माध्यमिक विद्यालय भाडसैनमा र वडा नम्बर ७ का संक्रिमितहरूलाई कैलाश भवानी माध्यमिक विद्यालय कोटेलीको आइसोलेसनमा राख्ने निर्णय गरिएको वडा नं १ का अध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीले बताए । उनले भने संक्रमितहरू भेटिएको वडालाई शिल गर्न सुरक्षाकर्मीहरू परिचालन गरिसकेका छौं । गाउँपालिकाभरि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका पसलहरू बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न दिइनेछ । संक्रमितहरू समुदायमा घुलमिल भइसकेको हुनाले संक्रमितहरूको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । परीक्षण गर्नका लागि २ सय थान भीटीएम किट गाउँपालिकामै मौजुद रहेको र अपुग किटका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ ।