कारोबार संवाददाता
शुक्रवार, श्रावण १६, २०७७
344

मुगु-आफ्ना सदस्यहरूलाई सहकारीमार्र्फत विभिन्न सेवा दिँदै आएको यहाँको एक सहकारीले सदस्यहरूलाई एम्बुलेन्स सेवासमेत दिन थालेको छ ।
जिल्ला कै ठूलो वित्तीय कारोबार गर्ने वित्तीय सस्था छायानाथ बचत तथा ऋण सहकारी सस्था लि,(छायानाथ साकोस)ले आफना दूरदराजमा रहेका सदस्यहरूलाई सुविधा दिनका लागि एम्बुलेन्स सेवा सुरु गरेको हो ।
सहकारीले जिल्लाभरि लघुवित्त कारोबारसमेत गरेकाले विकट बस्तीहरूमा समेत महिला केन्द्रहरू रहेका छन् । कोही सदस्य विरामी भएमा तत्काल उद्धार गरी सदस्यहरूलाई समयमै उपचार गर्न सकियोस् भनेर हेतुले सहकारीले एम्बुलेन्स सेवा सुरु गरेको सहकारीका अध्यक्ष भुपेन्द्रबहादुर मल्लले बताए ।
काठमाडौंको ठमेलमा रहेको नेचर निट प्रालिका सञ्चालक भरत अधिकारी सहितको टोली गत वर्ष मुगु घुम्न आएका बेला दूरदराजका विरामी, सुत्केरी व्यथा लागेका महिलाहरूलाई स्थानीयहरूले डोको र स्टेचरमा बोकेर स्वास्थ्य संस्थातिर लिँदै गएकोे बिजोक दृश्य देखेपछि टोलीले मुगालीको सेवाका लागि एम्बुलेन्स निःस्वार्थ सहयोग गर्ने निर्णय गरेका थिए ।
सञ्चालक अधिकारीले भने मुगुमा जनस्तरसम्म सम्बन्ध र सम्पर्क भएको संस्था खोज्दै जाँदा एक मात्र वित्तीय संस्था छायानाथ सहकारी पायांै त्यसमा झन सहकारीले सदस्यहरूलाई वार्षिक रुपमा सरसफाइका सामग्रीहरूलगायत अन्य सेवा दिँदै आएको पाएपछि आफूहरूले सहकारीलाई एम्बुलेन्स सहयोग गरेमा ग्रामीण स्तरसम्मका जनताले सेवा पाउने सुनिश्चिता र एम्बुलेन्स निरन्तर सञ्चालन गर्न सक्ने आर्थिक हैसियत पनि सहकारीको देखेपछि छायानाथ सहकारीलाई एम्बुलेन्स सहयोग गरेको र भावी दिनमा विभिन्न विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारीसमेत गरेका छांै ।
सहकारी र अधिकारीको सहकार्यमा जिल्लामा एम्बुलेन्स सेवा सुरु भएपछि सहकारीले दूरदराजका दुर्गम क्षेत्रहरूमा एम्बुलेन्स सेवा दिएर बिरामी तथा विपद्मा परेका व्यक्ति परिवारहरूको उद्धार गर्ने कार्य गरिरहेको छ ।
जिल्लाभरि रहेका आफना ९ हजार भन्दा बढी सदस्यहरूलाई विभिन्न सेवा दिँदै आएको सहकारीले थप एम्वुलेन्स सेवा पनि दिन थालेपछि सदस्यहरू सहकारीप्रति झन आक्रोशित र सहकारी सदस्यहरू कै लागि रहेछ भनेर बुझन थालेको सहकारीका उपाध्यक्ष कमलबहादुर बुढाले बताए ।
जिल्लामा २ सय बढी विभिन्न विषयगत सहकारीहरू भए पनि प्रायः सहकारीहरू सरकारी तथा निजी क्षेत्रबाट दिइने अनुदानमुखी छन, जो सदस्य सेवाभन्दा सदस्यबाट आर्थिक संकलन गरेर आफ्ना स्वार्थमा खर्च गर्ने योजनाका साथ सञ्चालित छन् । उनीहरू सहकारी ऐन, नियमावलीविपरीत कार्य गरिरहेका छन् ।
२०७१ सालमा स्थापना भएको छायानाथ सहकारीका जिल्लाभरि ९ हजार बढी सदस्य छन् भने सदस्यहरूको बचत मात्र २१ करोड, लगानी २२ करोड र कुल कारोबार २३ करोडभन्दा बढी छ ।
सहकारीले एम्बुलेन्स सेवामा सदस्यहरूलाई जिल्ला एम्बुलेन्स सञ्चालक समितिले तोकेको भाडादरमा २५ प्रतिशत छुट दिँदै आएको छ ।
जिल्लामा भएका सहकारीहरू प्रायः अनुदानमुखी र झोले सहकारी भएकाले जिल्लावासीले अझै सहकारीबारे पूर्ण साक्षरता पाउन सकेका छैनन् । सहकारी, वित्तीय कारोबार, बचत, ऋण, लगानी, वित्तीय फाइदा आदिबारे विगत ५ वर्ष यताबाट सदस्यहरूलाई आरएमडिसी नामक वित्तीय संस्थासँगको सहकार्य र सक्षम परियोजनाको आर्थिक सहयोगमा तालिम, गोष्ठी तथा प्रचार–प्रसारमार्फत सचेतना दिइँदै आए पनि सीमित सहयोग र दुर्गममा साधन स्रोतको अभावका कारण सर्वे नागरिकलाई वित्तीय साक्षरता दिन नसकिएको सहकारीका कोषाध्यक्ष हरिबहादुर शाहीले बताए ।
छायानाथ सहकारीले आफना सदस्यहरूलाई सुत्केरी पोषण भत्ता, मृत्य सस्कार खर्च, जन्मदिन खर्च, युवा स्वरोजगार कार्यक्रम, बिनाधितो लगानी, विशषज्ञ स्वास्थ्य घुम्ती सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ । सहकारीको सेवाबाट सदस्यहरू पनि सन्तृष्ट रहेको पाइएको छ ।

 

 

दानबहादुर बूढा