कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
562

पोखरा- कास्कीमा मास्क नलगाउने हिँड्डुल गर्ने २१ जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बुधबार कास्कीका विभिन्न ठाउँमा केही समय चेकिङ गर्दा २१ जना व्यक्ति बिनामास्क हिँड्डुल गरेकाले उनीहरुलाई कारबाही गरिएको कास्कीका प्रहरी प्रवक्ता एवं डीएसपी सुवास हमालले बताए ।
उनका अनुसार प्रहरीले पक्राउ गरेका २१ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीमा आवश्यक कारबाहीका लागि सिफारिस गरेअनुसार कास्की प्रशासनले जनही सय रुपैयाँ जरिवाना लिएको छ । उक्त नियम लागू गर्ने कर्मचारीमाथि खनिएमा वा अभद्र व्यवहार गरेको खण्डमा ६ सयदेखि ६ महिनासम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ । मास्क लगाउन अटेर गर्नेलाई सय जरिवाना वा एक महिनासम्म कैदको कानुनमा उल्लेख भएको छ ।

गत चैत ११ गतेदेखि देशमा कोरोना भाइरस (कोभिड–१९) को कारण देशमा लकडाउन हाल पनि जारी छ । असार १ गतेदेखि देशमा खुकुलो लकडाउन भएको छ । पोखरासहित कास्कीमा हाल मानिसहरुको चहल पहल हुने अधिकांश ठाउँमा कोरोनासम्बन्धी सचेतना र सावधानी विस्तारै भुल्दै गएको स्थानीयले गुनासो गरेका छन् ।
संक्रमण जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, अनिवार्य रूपमा मास्क र सेनिटाइजर प्रयोग गर्ने साथै पूर्णरूपमा लकडाउनको पालना गर्नुपर्नेमा नेपाल सरकारको निर्देशनको बेवास्था गर्नेउपर पुनः प्रहरी प्रशासन कारबाही गर्न बाध्य हुने डीएसपी हमालले बताए । कास्कीमा बुधबार १३ जनामा कोरोना शंक्रमण भएका बिरामी भेटिएका छन् ।