कारोबार संवाददाता
बुधवार, असार २४, २०७७
485

मंगलबार काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा सङ्क्रमण देखिएको हो ।

मंगलबार सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अछाम र बैतडीका ११-११, महोत्तरीका नौ, धनुषा र अर्घाखाँचीका आठ-आठ, डोटीका सात, मोरङ र डडेल्धुराका छ-छ, सल्यान, रुकुम पश्चिम र नवलपसारीका पाँच-पाँच, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका तीन-तीन, तनहुँ, पाल्पा र बर्दियाका दुई-दुई, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका एक-एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।
मंगलबार मुलुकभर २०४ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोना सङ्क्रमितको संख्या १६ हजार १६८ पुगेको छ । हालसम्म पिसिआर विधिबाट दुई लाख ६१ हजार ८६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय र सत्याग्रही युवाबीच सहमति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोडेका छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ ।
विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ ।
सहमतिअनुसार विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर निजको इच्छाअनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने वा राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइन र होल्डिग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा भएकालाई अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनः स्थापना गर्ने गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने गरिने भएको छ ।
यस्तै सर्वोच्च अदालतको फैसला र आदेशबमोजिम परीक्षण तथा क्वारेन्टिनलगायतका विषयमा हाल जारी गरिएका निर्देशिका एवं मापदण्ड परिमार्जन गर्ने, कोभिड–१९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृहमन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने पनि सहमतिपत्रका उल्लेख गरिएको छ ।