अमरराज आचार्य
सोमवार, असार २२, २०७७
724

दाङ-आइतबार करिब दिउँसो साढे दुई बजेको थियो घोराहीको रतनपुर नजिक केही युवा तथा युवतीहरू हातमा कसैले प्लास्ट्रिक समाइ रहेका थिए कसैले काटी रहेका थिए । सबै आ–आफ्ना काम गरिरहेका थिए । उनीहरूलाई काम गर्ने कसैले बोलाएको पनि होइन । तर, उनीहरू आएर मिलेर काम गरिरहेका छन् ।
उज्यालो बिहानी फाउन्डेसनले निर्माण गर्ने थालेको फेस सिल्ड निर्माणका लागि युवा–युवतीहरू सक्रिय भएका हुन् । सामाजिक कार्य गर्ने रुचि भएकाले काम गर्ने आएको घोराही उपमहाननगरपालिका–१४ निवासी प्रतीक्षा केसीले बताइन् । “काम गर्नेका लागि कसैले बोलाएको होइन फाउन्डेसनले यस प्रकारको काम गर्दै छ भनेर सुनेर आएको हुँ,” केसीले भनिन् । सामाजिक कार्यमा जोडिन पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ छ । सामूहिक रूपमा काम गर्दा काम गरेको जस्तो अनुभव नहुने उनले बताइन् । दिउसो खाजा भने फाउन्डेसनले खुवाउने गरेको उनको भनाइ छ ।

उनी जस्तै घोराही उपमहानगरपालिका–१४ निवासी वेञ्जु घिमिरे पनि फेस सिल्ड बनाउन आएको २ दिन भयो । “फुर्सदको समयमा घरमा बसेर मात्र के गर्नु सामाजिक सेवा गर्नुपर्छ भनेर आएको हुँ,” घिमिरेले भनिन् । सामाजिक कार्यमा सहभागिता जनाउने उनको सानै देखिको रुचि रहेको बताइन् । त्यसैले सुनेर आफैं आएको उनको भनाइ छ । “सामाजिक सञ्जालमा फाउन्डेसनले यस प्रकारको काम थालेको थाहा पाएर आएको हुँ,” घिमिरेले भनिन् । सामूहिक रूपमा काम गर्दा काम गर्दा रमाइलो हुने गरेको घिमिरे बताउँछिन् ।
उज्यालो बिहानी फाउन्डेसनले अहिले ट्र्याक्टर किन्ने फन्ट जम्मा गर्नेका लागि यस प्रकारको अभियान थालनी रहेको फाउन्डेसनका सचिव तुला बिकले बताए । “हामीले फन्ट जम्मा गर्ने उद्देश्यले यस प्रकारको अभियान सुरु गरेका हौं,” सचिव विकले भने । जम्मा भएको रकमबाट ट्र्याक्टर खरिद गरेर कृषिमा लगाउने उनको भनाइ छ । अहिले खेत तथा बाली जोत्नका लागि ट्र्याक्टरहरूले धेरै रकम लिने गरेका छन् उनीहरूले भन्दा सस्तोमा आफूहरूले जोतिदिने उनले बताए । जसले गर्दा कृषिमा लाग्नेहरूलाई थोरै मात्रमा भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘ट्र्याक्टर किन्नका लागि व्यक्तिले रकम उठाउनुभन्दा यस प्रकारको अभियान थालेका हौं,” विकले भने ।
अहिले १ हजार पिस फेस सिल्ड निर्माण गर्ने थालिएको छ । यसरी निर्माण गरिएको २ सय पिस फेस सिल्ड निःशुल्क रूपमा स्वास्थ्य क्षेत्रमा खटिनेलाई प्रदान गरिने उनले बताए । अरू ८ सय पिसलाई बजारमा बिक्री गरिने भएको छ । बजारको मूल्यमा बिक्री गरिने उनको भनाइ छ । एक हप्ताभित्र निर्माण गरिसकेर बिक्री गर्ने थालिने फाउन्डेसनले जनाएको छ । अहिले निर्माणका लागि दैनिक ३० जना युवा–युवतीले काम गर्दै आएका छन् । “यस कार्यक्रमा युवतीहरूको बढी सहभागिता छ,” सचिव विकले भने । सामाजिक सञ्जालमा गु्रस कुराकानीबाट यस अभियान सुरु गरिएको उनको भनाइ छ । “कसैलाई पनि काममा सहयोग गर्न आउनुस् भनेर भनेका छैनौं, आफंै आउनुभएको छ,” विकले भने । फेस सिल्ड निर्माणका लागि आवश्यक पर्ने सामग्री केही जिल्लाबाटै र केही काठमाडौंबाट ल्याइएको उनले बताए । फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
फाउन्डेसनमा जोडिएका युवाहरूले आफ्नो गोजाबाट रकम उठाएर लकडाउनको समयमा भोकाएका व्यक्तिहरूलाई खान खुवाउने, खान नपुग्नेलाई राहत प्रदान गर्ने, बस्ने व्यवस्था मिलाइ दिनेसमेत गरेको थियो । त्यसैगरेर लकडाउनको समयमा कृषकहरूले उत्पादन गरेको तरकारीहरू खरिद गरेर सोही मूल्यमा नै उपभोक्ताको घर–घरसम्म पु¥याउने कामसमेत गरेको थियो ।