कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
440

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिकाभित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ ।
गतवर्ष फागुनमा सुरु गरिएको यो बहुप्रतिक्षित खोप अभियान कोरोना भाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन । काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट सुरु भएको छ । यो अभियानमा काठमाडौं महानगरपालिकाभित्र रहेका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने सरकारी लक्ष्य छ ।

सरकारी तथ्यांकले सन् २०१५ पश्चात दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ । कोरोना भाइरस महामारीकै बेलामा काठमाडौंलगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । सन् २०२० को पाँचौं महिना मेको मध्यसम्ममा ३ सय २५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ । सन् २०१९ मा ४ सय ३१ बालबालिकामा यो संक्रमण देखिएको थियो ।
परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिनादेखि ५वर्षमुनिका सबै बालबालिकालाई यस अभियानअन्तर्गत अनिवार्य खोप लगाउनुपर्छ । यो अभियान काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ ।
पहिलोचरणअन्तर्गत असार ११ गतेदेखि १३ गतेसम्म वडा नं. ६, ७, ८,९, १०, ३१ र ३२मा खोपकार्यक्रम सञ्चालन गरिएको जनाएको छ । दोस्रोचरणमा वडानं. १, २, ३, ४, ५, ११, एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गतवर्ष समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।