कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
396

लमजुङमा कोरोना भाइरस संक्रमण देखिएका ३ जना निको भएर घर फर्किएका छन् । गत सोमबार कोरोना संक्रमण देखिएका पाँचजनामध्ये पछिल्लो पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ३ जनालाई घर पठाइएको हो ।
कोरोना जितेर घर फर्कनेहरूमा मध्यनेपाल नगरपालिका–४, ६ का क्रमशः २०, ४२ वर्षीय पुरुष र बेंसीसहर नगरपालिका–३ का २१ वर्षीय महिला रहेको सीएमसी लमजुङले जनाएको छ ।
बेंसीसहरको सहजी क्वारेन्टाइनमा रहेका तीनैजनालाई कोरोना संक्रमण देखिएसँगै जिल्ला सामुदायिक अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । आइसोलेसनबाट नै पुनः दोस्रोपटक स्वाब संकलन गरी परीक्षणका निम्ति पोखरा पठाइएकोमा शुक्रबार साँझ उनीहरूको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूलाई घर पठाइएको हो ।
यसैबीच कोरोना संक्रमण देखिएकामध्ये ८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको कोरोना रोकथाम तथा नियन्त्रणका निम्ति गठित क्विक रेस्पोन्स टिमले जनाएको छ । पहिलो पटक कोरोना संक्रमण देखिएसँगै पुनः दोस्रो पटक थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएका १२ जनामध्ये ८ जनाको रिपोर्ट आउन बाँकी रहेको हो । दोस्रो पटक परीक्षणको क्रममा जिल्लामा एक जनामा पुनःकोभिड–१९ पोजेटिभ देखिएको थियो ।
जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेहरूको संख्या १६ जना पुगेको छ । बाँकी १३ जनामध्ये १० जना जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा र तीन जना जिल्ला समन्वय समितिको सभाहलमा बनाइएको आइसोलेसनमा छन् । आइसोलेसनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।
क्युआरटीका अनुसार जिल्लाबाट हालसम्म पीसीआर परीक्षणको निम्ति ३ सय ८० जनाको थ्रोट स्वाब संकलन गरी पठाइएको छ । जसमध्ये हालसम्म ३ सय ३३ जनाको रिपोर्ट आइसकेको छ भने अझै ४७ जनाको रिपोर्ट आउन बाँकी रहेको क्युआरटीले जनाएको छ । रिपोर्ट आएकामध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय १७ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

प्रवासीहरूको आगमन बढेसँगै क्वारेन्टाइनमा र आइसोलेसन थपिँदै
भारतलगायत अन्य देशहरूबाट आउनेहरूको क्रम बढेसँगै लमजुङमा जिल्लास्तरीय क्वारेन्टाइन पनि थप भएको छ । यसअघि बेंसीसहरको सहजी र सुन्दरबजारको क्वारेन्टाइन भरिन थालेपछि सुन्दरबजार र बेंसीसहरमा क्वारेन्टाइन थप गरिएको हो ।
जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीका अनुसार सुन्दरबजारको आदर्श बाल मावि र बेंसीसहरको भकुण्डेस्थित बालकल्याण माविमा जिल्लास्तरीय क्वारेन्टाइन थप भएको हो । सुन्दरबजारमा थप भएको क्वारेन्टाइनमा निगरानीको जिम्मा नेपाली सेनाको श्रीजङ गणले लिएको । यता भकुण्डेस्थित बालकल्याण माविको क्वारेन्टाइनमा निगरानीको जिम्मा भने सशस्त्र प्रहरीले लिएको सीएमसी संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । यसअघि सेनाले सुन्दरबजारको कृषि क्याम्पसको परिसरमा बनेको क्वारेन्टाइनमा निगरानीको जिम्मा लिएको थियो । यस्तै बेंसीसहरको सहजी क्वारेन्टाइनको जिम्मा भने सशस्त्र प्रहरीले लिएको छ ।
जिल्लामा भारतलगायत अन्य देशबाट आउनेहरूको संख्या दिनानुदिन बढ्न थालेपछि उनीहरूको लागि बस्ने ठाउँ नहुँदा क्वारेन्टाइन थप्नु परेको सीएमसीले जनाएको छ । सो बाहेक पनि जिल्लाको अन्य सामुदायिक विद्यालयहरूमा पनि जिल्लास्तरीय क्वारेन्टाइन थप्ने तयारी भएको प्रजिअ शर्माको भनाइ छ । क्वारेन्टाइनसँगै जिल्लामा आइसोलेसन कक्ष पनि थप्ने तयारी भएको सीएमसीले जनाएको छ । हाल १ सय शय्याको आइसोलेसन तयार भएको भन्दै सम्भावित जोखिमको आँकलन गरी थप एकसय शय्याको आइसोलेसन बनाउन लागिएको प्रजिअ शर्माको भनाइ छ ।
प्रजिअ शर्माका अनुसार प्रवासीहरूको बढ्दो आगमन र संक्रमितहरू बढेको अवस्थामा हाल सुन्दरबजारमा क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको कृषि क्याम्पसलाई आइसोलेसनको रूपमा प्रयोग गरिनेछ । अन्यत्र क्वारेन्टाइन थप गरी कृषि क्याम्पसमा हालको क्वारेन्टाइनलाई आवश्यक मापदण्ड पूरा गरी आइसोलेसनको रूपमा प्रयोग गर्ने तयारी गरिएको प्रजिअ शर्माको भनाइ छ ।
जिल्लामा हाल प्रवासीहरूको संख्या थपिँदै गएपछि सदरमुकामका केही होटलहरूलाई पनि सशुल्क क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । बेंसीसहरस्थित गेट वे हिमालयन रिसोर्ट र होटल टुकुचे पिकलाई सशुल्क क्वारेन्टाइनको रूपमा प्रयोग गरी प्रवासबाट आएकाहरूलाई राख्न थालिएको हो ।
जिल्लाको तथ्यांक अनुसार हाल जिल्लाबाट १६ हजारभन्दा बढी नागरिक प्रवासमा छन् । सो मध्ये ६ हजारभन्दा बढी नागरिक हालकै अवस्थामा जिल्ला फर्कने तयारीमा छन् । जिल्लाको तथ्यांक अनुसार हालसम्म झन्डै ५ सयको हाराहारीमा भारत बाहेक प्रवासमा रहेकाहरू जिल्ला फर्किसकेका छन् ।

 

सन्देश पौडेल