कारोबार संवाददाता
शुक्रवार, जेठ १६, २०७७
446

आर्थिक वर्ष २०७७-७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) ले सबै प्रकारको रोगबाट जनजीवनलाई सहज र सुरक्षित बनाउने उद्देश्य राखेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै उपलब्ध साधनस्रोत, अवसर र क्षमता परिचालन गरी शीघ्र आर्थिक उपलब्धि हासिल गर्दै विकासको गतिलाई निरन्तता दिने बजेटको उद्देश्य रहेको बताए ।
साथै नागरिकका मौलिक हक र अधिकार उपलब्ध गराउन प्रभावकारी भूमिका अघि बढाउने र सामाजिक आर्थिक र पूर्वाधार विकास समाजिक समाजवादउन्मुख अर्थतन्त्रलाई अघि बढाउने बजेटको उद्देश्य रहेको उनको भनाइ थियो ।
बजेटका उद्देश्य प्राप्त गर्न कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिलाई सुरक्षित गर्न गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउन दायरा विस्तार गर्ने प्राथमिकता दिइएको छ । यसैगरी स्वास्थ्य पूर्वाधार निर्माण तथा विस्तार र विकास, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्दै कृषि, उद्योग, पर्यटन, रोजगारीको अवसर, सुरक्षित आवास, सुरक्षाको सुनिश्चित गर्न प्राथमिकता दिइएको अर्थमन्त्री खतिवडाले बताए ।
आगामी आवभित्र सम्पन्न हुने अधुरा आयोजनाको कार्यान्वयन गर्ने, आधारभूत खानेपानी, गुणस्तरीय शिक्षा, सङ्घीयता कार्यान्वयन, भौतिक पूर्वाधार विकास निर्माण, पारदर्शी शासन व्यवस्थालाई जोड दिइएको बजेटमा उल्लेख छ ।
संविधान, मुलुकका कानून, सरकारको नीति तथा कार्यक्रम, विनियोजनका सिद्धान्त र दिगो विकास लक्ष्यमा आधारित बजेटमा स्वास्थ्यकर्मीको बीमाको व्यवस्था र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धारका लागि आवश्यक रकमको व्यवस्था गरिएको छ ।

२७२ वटा अस्पताल निर्माण गरिने
सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न २७२ वटा स्थानीय तहमा २७२ वटा अस्पताल निर्माण गर्ने बताए ।
उनले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाका आधारभूत अस्पताल निर्माण गर्ने नीतिअनुरुप ती स्थानीय तहमा अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको बताए । अस्पताल निर्माण गर्न रु १४ अर्ब २७ करोड बजेट विनियोजन गरिएको बताए ।
यसैगरी साविकका जिल्ला र अञ्चल अस्पतालको स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरुआत आगामी आर्थिक वर्षमा गरिने बजेटमा उल्लेख गरिएको छ । स्थानीय तहका स्वास्थ्य सङ्ख्यामा चिकित्सकको व्यवस्था गरी नसर्ने रोग जाँचसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन रु पाँच अर्ब १० करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ ।
यसैगरी तीन वर्षभित्रमा सबै नागरिकमा स्वास्थ्य सेवा पुग्ने गरी आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसङ्ख्यालाई बीमाको दायरामा ल्याउने बजेटमा उल्लेख गरिएको छ । सबै स्वास्थ्य सङ्ख्याबाट पोषणका कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड
सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । सङ्घीय संसदमा आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वृद्धि गरी रु ९० अर्ब ६९ करोड पु-याएको बताए ।
उनले सबै नेपालीमा स्वास्थ्य सेवा पु-याउन, गुणस्तरीय स्वास्थ्य सेवा राख्न, स्वास्थ्य क्षेत्रको दायरा विस्तार गर्न, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण, स्तरोन्नति गर्न, स्वास्थ्य जनशक्ति विकास गर्न तथा कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि रु ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको बताए ।
बजेट भाषणमा उनले नेपाल खुला दिसामुक्त भएको समेत जानकारी गराए । बिरामीले सहज र सुलभ तरिकाले एम्बुलेन्स पाउने गरी एउटै नम्बरमा फोन गरी पाउने व्यवस्था बजेटमा व्यवस्था गरिएको छ । सबै अस्पताललाई एकीकृतरुपमा सञ्चालन गर्नका लागि एकीकृत छाता ऐन ल्याउने बजेटमा उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीको विद्यमान दरबन्दीलाई पुनरावलोक गरी स्वास्थ्यकर्मी थप गर्न सेन्टर फर डिजिट कन्ट्रोल स्थापना र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण गठनको प्रारम्भिक कार्य गर्नका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
काठमाडौं( सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ। चिकित्सक स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षाका उपकरण सहित प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
कोरोनालगायत अन्य संक्रामक रोग विरुद्ध कार्य गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरिएको छ।
आगामी वर्ष काठमाडौं उपत्यकामा ३ सय शैयाको सरुवारोग अस्पताल निर्माण, काठमाडौं उपत्यका र प्रदेशका सरकारी अस्पतालमा थप २ सय ५० शैयाका आइसीयु बेड स्थापना र सबै प्रदेशको राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल सञ्चालको लागि बजेट छुट्याइएको छ ।
स्वास्थ्य विकास पूर्वाधारका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको विस्तार गरि अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुरुप बनाइनेछ । साथै सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापना गरिनेछ ।
सबै स्थानिय तहमा ५ देखी १५ शैयासम्मका आधारभुत अस्पताल निर्माणका लागि आगामी बर्ष थप २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन गरिएको छ । एक चिकित्सक एक स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।
स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सको व्यवस्था गरी नसर्ने रोगको जाँचसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन ५ अर्ब १० करोड विनियोजन गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा ७ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
विभिन्न नागरिकलाई घातक रोग तथा जेष्ठ नागरिक तथा बालबालिकाको मुटुको निशुल्क उपचार गर्न र क्षयरोग, एड्स तथा यौनरोग, कुष्ठरोग नियन्त्रण गर्न ४ अर्ब २२ करोड विनियोजन गरिएको छ । आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त बनाउन बजेट विनियोजन गरिएको छ ।

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट
सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु. ६ अर्ब बजेट विनियोजन गरेको छ । सङ्घीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७- ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताए ।
उनले बजेट भाषणमा कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण तथा थप विस्तार हुन नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन गुणस्तर सहितको थप क्यारेन्टाइनको स्थापना भरपर्दो उपचार सेवा प्रवाह गर्न र नागरिकमा भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्था मिलाइएको समेत बताए ।
अहिले कोरोना भाइरसका कारणले क हजार ४२ जनामा सङ्क्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र सेवामा उत्प्ररित गर्न प्रोत्साहन भत्ताको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
बजेटमा कोरोनालगायत अन्य सङ्क्रामक रोगविरुद्ध कार्यरत रहेका सबै स्वास्थ्यकर्मीलाई रु पाँच लाखसम्मको निःशुल्क स्वास्थ्य जीवन बीमा बजेटमा गरिएको उनले बताए । आगामी वर्ष काठमाडौँ उपत्यकामा ३०० श्ययाको सुविधा सम्पन्न छुट्टै सरुवा रोग अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
काठमाडौँ उपत्यका र बाहिरका सरकारी अस्पतलामा थप २५० श्ययाका सघन उपचार कक्ष निर्माण र सबै प्रदेश राजधानीमा ५० श्ययाका सरुवा रोग अस्पताल सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । बजेटमा पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्तपालका रुपमा विकास गर्दै लगिने उल्लेख गरिएको छ ।

पूर्वाधारमा १२ अर्ब ४६ करोड
सरकारले स्वास्थ्य विकास पूर्वाधारका लागि रु १२ अर्ब ४६ करोड विनियोजन गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुलाई क्षमता विस्तार गरि अन्तरराष्ट्रिय मापदण्डअनुरुपको बनाइने अर्थमन्त्री डा खतिवडाले उल्लेख गए ।
सबै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोशगाला स्थापना गर्न सवै स्वास्थ्य संस्थामा उपचारका लागि आवश्यकीय प्रयोगशाला विस्तार गर्न तथा रोग निदान तथा फार्मेसी सेवा सञ्चालन गर्न र विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य जाँच गर्न प्रमुख प्रवेश नाकामा आवश्यक उपकरणसहितको स्वास्थ्य डेस्क स्थापना गरिने बजेटमा विनियोजन गरिएको छ ।