कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
389

रौतहटमा ३ बालबालिका सहित २२ जना कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ । यो सहित रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।
मंगलबार पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजदेवी नगरपालिकाका रहेका छन् । गौर नगरपालिकामा ७ देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जना र अन्य स्थानिय तहमा गरी २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिएका छन् ।
संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रजिअ घिमिरेले बताए । भारतका बिभिन्न शहरबाट काम गरेर आएका उनीहरु सबैलाई सिमा नाकाबाट सिधै क्वारेन्टिनमा राखिएको थियो । सोमबार मात्रै राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । यसअघिका संक्रमितहरुलाई गौरस्थित नर्सिङ इस्टिच्युट आइसोलेसन र राजपुर आइसोलेसनमा राखेर उपचार गरिदै आएको छ ।