कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
445

बारा- कोरोनाको संक्रमण बढेसँगै बाराको निजगढमा नगरपालिका र उद्योगीहरुको सहकार्यमा राजमार्गमा अत्याधुनिक भेहिकल स्यानिटाइजिङ टनेन सञ्चालनमा ल्याएको छ । ढुवानी खुकुलो भएसँगै निजगढ नगरपालिकाले उद्योगीहरुको सहकार्यमा भेहिकल स्यानिटाइजिङ टनेल सुरु गरेको हो ।
निजगढ नगरपालिकाले आफ्नो क्षेत्रलाई सुरक्षित राख्न नगरको प्रवेश विन्दुमै भेहिकल स्यानिटाइजिङ टनेल प्रदेश दुईमै पहिलो पटक राख्ने स्थानीय तह बनेको छ ।

जिल्लाका अन्य नगर र छिमेकी जिल्ला पर्सा, रौतहटमा सक्र्रमित दैनिक बढ्दै जान थालेपछि पूर्व—पश्चिम राजमार्गको निजगढ नगर प्रवेश गर्ने स्थान बकैयापुलमा अत्याधुनिक प्रविधिको अटोमेटिक सेन्सर भइ सवारी साधनको स्यानिटाइजिङ स्प्रे हुने टनेल निर्माण गरिएको हो । निजगढ नगरपालिकाको सहकार्य तथा खानी तथा क्रसर निर्माण व्यवसायी संघको सहकार्यमा प्रदेशकै पहिलो स्वचालित स्यानिटाइजिङ टनेल सञ्चालनमा आएको हो ।
निजगढ नगरमा पर्ने राष्ट्रिय राजमार्गमा देशका विभिन्न भागहरुमा जाने आउने भएकोले त्यस्ता सवारी साधनलाई लक्षित गरी उक्त भेहिकल स्यानिटाइजिङ टनेल निर्माण गरिएको खानी तथा क्रसर निर्माण व्यवसायी संघ प्रदेश–२ का सदस्य प्रदीप सुवेदीले बताए ।
नगर प्रमुख सुरेशकुमार खनालले आफ्नै र छिमेकी जिल्लामा संक्रमण बढेका कारण यस टनेलले निजगढ नगरमा भेहिकलको माध्यमबाट भित्रने सक्ने भाइरस संक्रमण न्यूनिकरण गर्न मद्दत पुग्ने बताउँदै उद्योगीको सहकार्यमा निर्माण भएको टनेलेल राजमार्गमा गुड्ने प्रत्येक गाडीलाई स्प्रे गर्ने व्यवस्था मिलाइएको छ ।
नगरमा सञ्चालित उद्योग, कृषिजन्य उत्पादन लगायतका सामान लिन आउने सवारी र नगरमा आउने अन्य सबै प्रकारका सबारी साधन र राजमार्गमा गुडने सवारीलार्ई लक्षित गरी स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याइएको हो ।
‘लकडाउन’ को अवस्था नरहँदा यस राजमार्गबाट दैनिक दिन–रात गरी साना तथा ठूला सवारी साधनहरु पाँच सयदेखि ७ सयसम्म आवत जावत गर्ने अहिले ‘लकडाउन’ अवस्थामा पनि दुई सयदेखि दुई सय ५० जति सवारी साधनहरु आवत जावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख एवंम् ट्राफिक प्रहरी निरीक्षक सुरेश थापाले बताए ।