कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६
6905

धनकुटा- विश्वभर फैलिएको नोभेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि धनकुटाको सहिदभूमि गाउँपालिका–१ ले क्वारेन्टाइन डेस्क स्थापना गरेको छ ।
सहिदभूमि गाउँपालिका–१ मा ५ वटा बेड भएको क्वारेन्टाइन डेक्स स्थापना गरेको सहिदभूमि गाउँपालिका–१ का वडाध्यक्ष अशोक राईले जानकारी दिए । सहिदभूमि गाउँपालिका–१ को आर्थिक सहयोगमा धापस्थित स्वस्थ्य चौकीको प्राविधिक सहयोगमा उक्त डेस्क स्थापना गरिएको र क्वारेन्टाइन डेस्क स्थापनासँगै विदेशबाट आएका तथा वडा बाहिरबाट आएका स्थानीयको स्वास्थ्य चेकजाँचसमेत सुरु भएको अध्यक्ष राइको भनाइ छ ।

वडाध्यक्षद्वारा सहयोग
धनकुटा नगरपालिका वडा नं ३ का वडाध्यक्ष विकास घिमिरेले ३ नं वडाका मजदुरलाई व्यक्तिगत रुपमा खाद्यान्न तथा मास्क वितरण गरेका छन् । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने कामदारलाई समस्या भएको भन्दै खाद्यान्न र मास्क वितरण गरेको घिमिरेले बताए । उनले दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएका २५ परिवारलाई आधा बोरा चामल र एक किलो नुन र एक किलो दाल वितरण गरेका छन् ।