कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६
459

अर्घाखाँची- विश्वव्यवापी रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड) १९ को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नका लागि जिल्लाका स्थानीय तहले आइसोलेसन वार्ड स्थापना गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी पूर्वतयारीको रूपमा आइसोलेसन कक्षको स्थापना गरिएको हो ।
कोरोना संंक्रममित बिरामीलाई अस्पतालमा आइसोलेसन कक्ष छुट्याएर छुट्टै उपचार गर्नुपर्ने भएकोले सरकारी विद्यालयलाई छनोटमा राखेर आइसोलेन कक्ष स्थापना गरिएको हो । जिल्लामा भारत तथा विदेशबाट आएका १४ जनालाई सन्धिखर्कस्थित युवावर्ष जनता रविचित्र विद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।
जिल्लामा कोरोना भाइरसको रोकथामका लागि जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय सरकारले तयारी तीव्र पारेका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले दिएको जानकारी अनुसार अहिलेसम्म जिल्लाभर २७६ करेन्टाइन बेडको स्थापना भएको छ । जिल्लाका स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा ३०, पाणिनीमा ३०, भूमिकास्थानमा १००, मालारानीमा ९०, सितगंगामा ११, छत्रदेवमा १५ वटा क्वारेन्टाइन बेड राखिएको छ । जिल्लाका स्थानीय तहले सचेतनाका लागि विभिन्न कार्यक्रम गरेका छन् । जिल्लामा २५ दिनलाई पुग्ने अनुमानित खाद्यान्न र १५ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।