सागर परियार
बुधवार, चैत्र १९, २०७६
425

जुम्ला-देशभर अभाव भैररहेको अबस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैले स्यानीटाइजर उत्पादन कार्य सुरू गरेको छ । कोरोना संक्रिमतको उपचारमा खटिने चिकित्सकहरुले प्रयोग गर्ने स्यानीटाईजर देशैभरी अभाव छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न अत्याआबश्यक पर्ने स्यानिटाइजर प्रतिष्ठानले आफै उत्पादन थालेको हो ।
आवश्यकतालाई मध्यनजर गर्दै नर्सिङ र फार्मेसीको टिमले प्रतिष्ठानभित्र एक महिनाका लागि पुग्ने १२ लिटरजति स्यानिटाइजर उत्पादन गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । स्यानीटाइजर उत्पादनका लागि आवश्यक केही कच्चा पदार्थ प्रतिष्ठानमा भएकाले तत्कालका लागि उत्पादन गरिएको हो ।

पर्याप्त (पीपीई) नभएकाले जोखिम मोलेरै उपचारमा खटिएका प्रतिष्ठानका सयौ चिकित्सकले प्रयोग गरिरहेका छन् । त्यो एक महिना पनि पुग्दैन, कच्चा पदार्थ भएको खण्डमा प्रतिष्ठानले जति पनि बनाउन सक्ने निर्देशक रावललको दाबी छ । धेरै डाक्टर चिकित्सक एकै साथ उपचारमा सहभागी हुने भएकाले स्यानिटाइजर निकै आवश्यक रहेको अस्पतालले जनाएको छ । “कोरोना भाइरसबाट सुरक्षित हुन स्यानिटाइजर अनिवार्य नभए साबुन पानीले हात धुनु अत्यावश्यक छ । निर्देशक डाक्टर रावलले भने आफंैले गर्न सक्ने सानातिना कुरामा पनि सधै सरकारकै भरपर्नु राम्रो हैन, पर्याप्त नभए पनि तत्काल उपचार खटिने डाक्टरहरूलाई संक्रमण हुन नदिन हामीले जुम्लामै स्यानिटाइजर उत्पादन गरेको डाक्टर रावलले उल्लेख गरे ।
जुम्लामै थोरै भए पनि स्यानिटाइजर उत्पादन गरेपछि उपचारमा अलि ढुक्क भएको डाक्टर धिरज गुरुङले बताए । सरकारले (पीपीई) पठाउनु पहिले नै केही थान प्लास्टिकको पीपीई प्रतिष्ठानले नै बनाइसकेको थियो । हाल अमेरिकन नेपाल मेडिकल फाउन्डेसनले केही पीपीई सामग्री उपलब्ध गराएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनका अनुसार सबै गरी प्रतिष्ठानमा ३५ सेटमात्रै पीपीई छ । चिकित्सक धेरै पीपीई कम हुँदा समस्या भएको छ ।