देवराज गुरुङ
बिहिवार, फाल्गुन १, २०७६
383

ताप्लेजुङ-जिल्लाको सिरिजंगा गाउँपालिकाले परीक्षा सञ्चालन गरी २२ जना स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ ।
गत शनिबार (माघ २५ गते) गाउँपालिका केन्द्र तेल्लोकमा परीक्षा सञ्चालन गरेर स्वास्थ्यकर्मी नियुक्त गरेको हो । कर्मचारी समायोजनका कारण स्वास्थ्य केन्द्र तथा चौकीमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेकाले बाध्य भएर परीक्षामार्फत स्वास्थ्यकर्मी नियुक्त गरेको गाउँपालिकाले जनाएको छ । ४६ जनाको दरबन्दीमा २३ जना मात्र कार्यरत थिए । लामो समयसम्म सरकारले रिक्त पदमा स्वास्थ्यकर्मी नपठाएकाले १ जना स्टाफ नर्स, ८ अहेब, ७ अनमी र ६ हेल्थ असिस्टेन्ट गरी २२ जना नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए । १ जना डाक्टरको पदमा भने दरखास्त नपरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

“डाक्टरका लागि फोन त धेरैले गरे,” अध्यक्ष गुरुङले भने, “सेवा सुविधा नेपाल सरकारले तोकेजति मात्र दिने जवाफ दियांै । मागेजति दिन नसक्ने बताएकाले होला, दरखास्त नै परेन् ।” स्थायी दरबन्दीमा कर्मचारी आएलगत्तै स्वतः कटौती हुने गरी स्वास्थ्यकर्मी नियुक्त गरेको हो ।
जुम्लादेखि नेपालगन्ज, धनुषा र महोत्तरीबाट गरी २२ जनाको कोटामा दरखास्त दिनेको संख्या ९७ जना थियो । ८ वटा वडा रहेको गाउँपालिकामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले गाउँपालिकामा दुःखेसो पोख्ने गरेका थिए । गाउँपालिका केन्द्रसम्म आउन १ दिनको पैदल हिँड्नुपर्ने गरी बस्तीका बासिन्दाले तत्काल स्वास्थ्यर्मी उपलब्ध गराउन माग गर्ने गरेको थियो । वडा नम्बर–८ याम्फुदिनका खड्ग गुरुङले गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नियुक्त गरेकोमा खुसी प्रकट गरे । गुरुङले भने, “स्वास्थ्य परामर्श तथा उपलब्ध हुने औषधि पाउनेमा ढुक्क छौं । स्वास्थ्यकर्मी आएसँगै सेवा प्रवाहमा समस्या हुनेछैन ।” गाउ“पालिकाले केन्द्र सरकारले दिएको सशर्त अनुदानको रकमबाट तलब खुवाउने गरी करारमा कर्मचारी नियुक्त गरेको हो । गाउँपालिकाले उक्त रकम स्वास्थ्यको पूर्वाधार निर्माण जनचेतना अभिवृद्धि, स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास, स्वस्थ्य खानेपानी, सरसफाइ लगायतका अन्य काममा खर्चनु पथ्र्यो ।
महालेखा परीक्षकले बेरुजु आंैल्याए के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष गुरुङले भने, “सैदान्तिक बेरुजु भन्ला कि भन्ने डर छ । दुर्गम गाउँमा स्वास्थ्य जस्तो संवेदनशील विषयमा गरिएको यो मानवीय निर्णयप्रति सम्बन्धित निकायले पक्कै विवेक प्रयोग गर्ला ।” सव पोस्टमार्टमका लागि स्टेचरमा बोकेर ३ दिनको पैदल हिँडेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याउनुपर्दाको पीडा बिर्सन नहुने इन्सेक पाँचथर प्रतिनिधि मंगल बेघाले बताए । उनले भने, “गाउँपालिका केन्द्रनजिकको स्वास्थ्य केन्द्रमा डाक्टर दरबन्दी छ । तर डाक्टर छैन । सव बोकेर जिल्ला ल्याउँदाको पीडा साँच्चै कष्टकर थियो ।” गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय, करारमा कर्मचारी नियुक्त गर्नसक्ने लगायत यसमा आकर्षित हुने ऐन कानुनलाई समेत आधार मानेर निर्णय गरिएको हो । गाउ“को पालिकामा आन्तरिक आम्दानी नभएकाले केन्द्रको बजेट खर्चिनुपरेको हो ।