कारोबार संवाददाता
मंगलबार, माघ २८, २०७६
219

धनगढी- सेती प्रादेशिक अस्पतालमा नोबेल कोरोना भाइरस संक्रमणको संकेत देखिएमा स्क्रिनिङका लागि छुट्टै उपचार कक्ष स्थापना गरिएको छ ।
अस्पतालले एउटा छुट्टै कोठा व्यवस्थापन गरी पाँच शैयाको कडा खालको रुघाखोकी, ज्वरोको बिरामीलाई चेकजाँचका गर्न स्क्रिनिङ कक्ष स्थापना गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेयले बताए । उनले भाइरसको संक्रमण देखिएमा सो कक्षमा भर्ना गरी उपचार गरिने बताए । उनले हालसम्म नोबेल कोरोना भाइरसका संक्रमित फेला नपरे पनि पूर्व तयारीका लागि अस्पतालभित्र छुट्टै कक्ष स्थापना गरी भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको बताए । “अहिले चिसोको मौसम भएकाले सामान्य रुघाखोकीका बिरामी आउनु स्वाभाविक हो,” उनले भने, “तर कडा खालका रुघाखोकीका बिरामी आएमा उनीहरूलाई छुट्टै कक्षमा राखेर उपचार गरिने छ ।”

खुल्ला सिमानाकाका कारण भाइरसले सुदूरपश्चिम प्रदेशमा जोखिम हुनसक्ने प्रदेश सरकारले सतर्कता अपनाउन निर्देशन दिनुका साथै प्रदेशस्तरीय अस्पताललाई छुट्टै उपचार कक्ष स्थापना गर्न भनिएको छ । प्रदेशमा भाइरसको संक्रमण फैलन नदिन मन्त्रालय र स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सीमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि तयार गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सतर्कता तथा जनचेतनामूलक कार्यक्रम गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रबन्ध मिलाउन निर्देशसमेत गरेको छ ।
स्थानीय तहमा कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सतर्कता अपनाउन भनिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा नोबेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति खडा गरी प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामूलक कार्यक्रम बुहप्रतीक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।