कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६
453

पोखरा–१० बुद्धचोकमा नयाँ हस्पिटल सञ्चालनमा आएको छ । सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले माघ १ अर्थात् बुधबारदेखि ग्यालेक्सी हस्पिटल प्रालिले उक्त हस्पिटल सञ्चालनमा ल्याएको हो ।
यस हस्पिटलमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, आधुनिक २ वटा अपरेसन कक्ष, १४ वटा ओपीडी, आधुनिक ल्याब, आईसीयू, एनआईसीयू, पीआईसीयू, पोस्टअप कक्ष रहेको हस्पिटलका अध्यक्ष डा. हेमन्त मानन्धरले बताए । उनका अनुसार पोखराका दक्ष तथा अनुभवी चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरूद्वारा प्रवद्र्धित र सञ्चालित यस हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकद्वारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
हस्पिटलले शुभारम्भको अवसरमा सबै प्रकारका सेवामा ३० प्रतिशत छुट सुविधा प्रदान गरिने अध्यक्ष डा. मानन्धरले बताए । उनका अनुसार हस्पिटलमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पूर्णकालीन विशेषज्ञ डाक्टरको चेकजाँच सुविधा, बिना चिरफार (ल्याप्रोस्कोपिक) पेटसम्बन्धी सम्पूर्ण रोगको सल्यक्रिया, हाडजोर्नी तथा नसासम्बन्धी सल्यक्रिया, आर्थोस्कोपिक सल्यक्रिया हुनेछ । यसैगरी न्यूरो सर्जरी, बालरोग, प्रसूति तथा स्त्रीरोग सेवा, छाला तथा यौन रोग, नाक कान घाँटी, मनोरोगलगायतका रोगको उपचारको सुविधा रहेको हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषिराम ढकालले बताए ।