घनश्याम पौडेल
बुधवार, पुष २३, २०७६
941

अर्घाखाँची-जिल्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारको सूचिकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भएपनि सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले असुरक्षित ढंगले गर्भपतनका औषधी बिक्रीवितरण तथा उपचार गर्दा असुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको हो ।
जिल्लाको सरकारी अस्पताल अर्घाखाँची अस्पतालमा यसै आर्थिक वर्षको साउनदेखि मंसिर मसान्त सम्मको पाँच महिनाको अवधिमा ९२ जनाले गर्भपतन गराए । जस मध्ये ५६ जनाले असुरक्षित गर्भपतन गराएको फेला परेको छ ।

अर्घाखाँची अस्पतालका डाक्टर कपिल गौतमका अनुसार मेडिकल र निजी स्वास्थ्य संस्थामा गएर औषधि खाएपछि अत्यधिक रक्तस्राव हुने गरेको र त्यसपछि बल्ल सूचीकृत संस्थामा आउने गरेका छन् । “९२ जना मध्ये ३६ जनाले मात्र पहिलोचोटी नै सुरक्षित गर्भपतनका लागि जिल्ला अस्पतालमै आएर सेवा लिएका छन्,” डा. गौतमले भने, “५६ जना अन्यत्रै गई औषधी खाईसकेपछि मात्र थप उपचारका लागि आएका छन् ।”
जिल्लास्थित मेरी स्टप सेन्टरको तथ्याङ्क अनुसार यसै आर्थिक वर्षको साउनदेखि मंसिर मसान्त सम्मको पाँच महिनाको अवधिमा एक सय ४२ जनाले गर्भपतन गराएका छन् । जसमध्ये ५९ जनाले असुरक्षित गर्भपतन गराएको संस्थाका डिजी कोर्डिनेटर सिद्धार्थ केसीले बताए । “पहिले सूचीकृत नभएका निजी क्लिनिकमा गएर औषधी सेवन गर्छन्,” उनले भने, “त्यसपछि नकारात्मक असर देखाउन थालेपछि मात्र यहाँ आउने गरेका छन् ।” एक सय ४२ मध्ये ८३ जनाले भने सुरक्षित गर्भपतन गराएको उनले बताए ।
जिल्लामा सरकारी अस्पताल र मेरी स्टप सेन्टर बाहेक १३ वटा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थाहरु रहेका छन् । तर धेरैले निजी क्लिनिकमा गएर असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका छन् । सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीहरुमा अनुगमन गर्दा नियम विपरित कार्य सञ्चालन गरेको भेटिएको हो । त्यस्ता मेडिकलहरु आवश्यक मापदण्ड बिनानै सञ्चालनमा आएका छन् ।
नियम विपरित मेडिकल र पोलिक्लिनकिहरुले गर्भपतन सेवा दिने, प्रतिबन्धित औषधी विक्री गर्ने भेटिएको अर्घाखाँची अस्पतालका डाक्टर कपिल गौतमले बताए । अर्घाखाँची अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भएपनि महिलाहरु निजि मेडिकलहरुमा गएर गर्भपतन गराउन औषधी सेवन गर्ने गरेका छन् ।
स्वास्थ्यको सेवा र प्रदान गरिने सेवाको मूल्य सुची नराखिएको, अर्कैको नाममा रहेको मेडिकल सञ्चालन गरेको, लाइसेन्सधारी व्यक्ति बाहेककोले औषधी बेच्ने गरेको, फार्मेसी पास नगरेकाले पनि औषधी बेच्ने गरेका फेला परेको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पूर्ण पराजुलीले बताए । आगामी दिनमा अनुगमनलाई अझै प्रभावकारी बनाइने र नियम विपरित गर्नेलाई कानुनको दायरामा ल्याइने उनको भनाइ छ ।