कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
465

म्याग्दी-रघुगंगा गाउँपालिकाको गलेश्वरदेखि पिप्ले–भगवती हुँदै  बेग सडक आयोजनाअन्तर्गत सडकको पर्खाल निर्माणमा प्रयोग सामग्रीको गुणस्तर परीक्षण गर्न पर्खाल भत्काइएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेको गुनासो आएपछि आइतबार स्थलगत अनुगमन गर्दै पर्खाल भत्काएको हो ।
कार्यालयका इन्जिनियर सन्तोष अर्याललगायतको टोलीले पिप्लेस्थित स्वास्थ्य चौकीनजिकैको घुम्तीमा निर्माण गरिएको पर्खालमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको गुनासो आएपछि अनुगमन गरेको थियो । टोलीले पर्खाललाई भत्काएर पर्खालमा प्रयोग गरिएका ढुंगा, बालुवा र सिमेन्टको मिश्रणलाई परीक्षणका लागि नमुना संकलन गरिएको इन्जिनियर अर्यालले जानकारी दिए ।

पर्खालमा प्रयोग गरिएका ढुंगामा माटो लागेको भेटिएको थियो । निर्माण कम्पनीले प्रयोग गरेका ढुंगा, बालुवालगायतका निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि संकलन गरिएको नमुना पश्चिमाञ्चल इन्जिनियर कलेजमा पठाइनेछ । एक साताभित्रै रिपोर्ट आउने जनाइएको छ । पर्खाल निर्माण गर्दा माटो मिसिएको बालुवा र सिमेन्ट र गुणस्तरहीन ढुंगाको प्रयोग गरेको पाइएपछि आफूले यसबारे सम्बन्धित निर्माण कम्पनी र कार्यालयलाई समेत ध्यानाकर्षण गराएको नेकपा रघुगंगा गाउँकमिटिका अध्यक्ष दीपक कार्कीले बताए ।
अनुगमन टोलीले मेसिनरी पर्खाल निर्माण गर्दा माटैमाटो भएको ढुंगाको प्रयोग नगर्न अनुगमन टोलीले निर्देशन दिए पनि आयोजनाको कामलाई निरन्तर रूपमा अनुगमन गर्नुपर्ने समेत बताए ।
आठ किलोमिटर दूरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जेभी काठमाडौसँग १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७६ जेठ २७ गते सम्झौता गरी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित कार्यक्षेत्रमा परिचालित निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माण कम्पनीले भने स्तरीय निर्माण सामग्रीको प्रयोग गरी काम गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ ।
हाल कच्ची, उकालो, ग्रेड र मोड नमिलेको यस सडक आयोजनामार्फत ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गरिनेछ । आयोजनामार्फत सडक फराकिलो बनाउने, ग्याबियन जाली, ढुंगाको पर्खाल लगाउने, नाली बनाउने, ह्युमपाइप, कज्वे र बायो इन्जिनियरिङ गरिनेछ । दशकअघि ट्रयाक खुलेको यो सडक कच्ची भएको कारण अहिलेसम्म बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती खेप्दै आएका छन् ।

धिरन खत्री