कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
362

धनगढी-सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका १६ स्वास्थ्य संस्थाहरूलाई टाइप बि एम्बुलेन्स वितरण गरेको छ । ६ करोड ३५ लाख २ हजार रुपैयाँमा खरिद गरिएका १६ वटा अत्याधुनिक सुविधानसहितको एम्बुलेन्स बुधबार वितरण गरिएको हो । प्रति एम्बुलेन्स खरिदमा ३९ लाख ७ हजार रुपैयाँ परेको एम्बुलेन्समा औषधि सहितको २२ प्रकारका उपकरण जडान गरिएको छ ।
प्रदेशको रेफरल सेवा सुधार गर्नका लागि अत्याधुनिक सुविधासहितको एम्बुलेन्स वितरण गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनले यस एम्बुलेन्सले गर्दा बाटोमै बिरामीको मृत्यु हुने दर कम हुने विश्वास गरिएको बताए ।

प्रदेश सांसद्हरूको रोहवरमा वितरण गरिएको एम्बुलेन्स सेती प्रादेशिक अस्पताल धनगढी, महाकाली अस्पताल महेन्द्रनगर, जिल्ला अस्पताल डोटी र अछामले पाएका छन् । दार्चुलाको हिकिला स्वास्थ्य चौकी दुहु र खार स्वास्थ्य चौकी नौगाड, बैतडीको कुलाउ स्वास्थ्य चौकी पञ्चेश्वर र रुद्रेश्वर स्वास्थ्य चौकी डिलासैनी, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र केदारस्यु र मटेला स्वास्थ्य चौकी छविसपाथिभरा, डडेल्धुराको जोगबुढा अस्पताल पर्शुराम र नवदुर्गा स्वास्थ्य चौकी नवदुर्गा, अछामको बाब्ला स्वास्थ्य चौकी, कलबजार प्राथमिक स्वास्थ्य चौकी र बान्नीगढी स्वास्थ्य चौकी र बाजुराको टाटे स्वास्थ्य चौकी बुढीगंगाले एम्बुलेन्स पाएका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेटमा एम्बुलेन्स खरिदका लागि मन्त्रालयले ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रत्येक संघीय निर्वाचन क्षेत्रमा पर्ने गरी एक एम्बुलेन्स वितरण गर्ने लक्ष्य राखेर गत असारमै एम्बुलेन्स खरिद गरिएको भएपनि पछिल्लो पटक आवश्यकताका आधारमा एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारलाई एम्बुलेन्स खरिदमा नेपाल सरकारले राजस्व छुट दिएको थियो । नेपाल सरकारको राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सबाट सम्बन्धित स्वास्थ्य संस्थाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क र गर्भवती तथा सुत्केरीलाई कम्तीमा ५० प्रतिशत भाडा छुट दिनुपर्ने सर्त राखेर मन्त्रालयले एम्बुलेन्स वितरण गरेको छ ।
प्रदेश सरकारको एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी निर्देशिका र संघीय सरकारको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ वा त्यसको संशोधनको आधारमा एम्बुलेन्स सेवा सञ्चालन गर्नुपर्ने सर्तसहितको सम्झौतापत्र बनाएर एम्बुलेन्स वितरण गरिएको छ ।
मन्त्रालयले एम्बुलेन्स सञ्चालनका लागि सो एम्बुलेन्स चालकहरूले बिहीबार (आज) देखि एक साताको प्राथमिक उपचार तालिम दिइरहेको छ । सो तालिममा चालकहरूलाई एम्बुलेन्समा रहेका उपकरणहरूको प्रयोग विधिसमेत सिकाइने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
यसैगरी, एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मीसमेत रहने व्यवस्था मिलाएइको छ । मन्त्रालयले इमर्जेन्सी मेडिकल टिम नै बनाएर एम्बुलेन्समा तालिम प्राप्त स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । एम्बुलेन्समा रहने जनरल स्वास्थ्यकर्मीलाई समेत तीन महिने तालिम दिइने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
एम्बुलेन्स सेवा सञ्चालन गर्न नसक्ने स्वास्थ्य संस्थाबाट एम्बुलेन्स फिर्ता लिई अर्को संस्थालाई दिने सर्तसमेत राखेको मन्त्रालयले ती एम्बुलेन्समा ट्रयाकिङ डिभाइससमेत जडान गर्ने भएको छ । स्वास्थ्य महाशाखा प्रमुख कार्कीले एम्बुलेन्सको विस्तारै प्रदेशमा रहेका सबै एम्बुलेन्सलाई ट्रयाकिङ गर्ने व्यवस्था मिलाइने बताए ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मन्त्रालयले दिएको एम्बुलेन्स कुनै एक संस्थालाई दिइएको भए पनि जिल्लामा सबै बिरामीहरूलाई सेवा उपलब्ध गराउनुपर्ने बताए । उनले नजिकमा कुनै स्वास्थ्य संस्थामा बिरामी ल्याउनु परेमा वा अन्य स्वास्थ्य संस्थाबाट विरामी रिफर गर्नुपरेमा एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने बताए । उनले एम्बुलेन्स पाएको स्वास्थ्य संस्थालाई एम्बुलेन्स सेवा सञ्चालन, व्यवस्थापन र मर्मतको जिम्मेवारी रहेको बताए ।