कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
314

डडेल्धुरा- शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै सत्रौं पटक डडेलधुरामा आमरण अनसनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ । तेस्रो दिनमा केसीको रक्तचाप कम भएको, रिंगटा लागेको, मुटुको चाल पनि बढेको डडेल्धुरा अस्पतालका डा. जितेन्द्र कँडेलले बताए । चिसो मौषम भएका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको डा. कँडेलको भनाइ छ ।
२०७५ साउन १० गते सरकारले गरेका सम्झौताको कार्यान्वयन सहित सातबुँदे माग राख्दै डा. केसी अनसनमा बसेका हुन् । अनसनप्रति डडेल्धुरा कांग्रेसले समर्थन जनाएको डडेल्धुरा कांग्रेसका सभापति एवं सुदूरपश्चिम प्रदेश सांसद कर्ण मल्लले जानकारी दिए ।
सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनसन बसिरहेका केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो ।