कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
584

अर्घाखाँचीको सन्धिखर्क–५ बलेवाङका ५५ वर्षिय हरि कुमाललाई बेलाबेलामा पेट दुख्ने समस्या थियो । जिल्ला अस्पताल पुगी भिडियो एक्सरे गरेर रोग पहिचान गर्ने सोच बनाए पनि उनी अस्पताल पुग्न सकेका थिएनन् । गाउँमै आएको स्वास्थ्य शिविरले भिडियो एक्सरे सेवा प्रदान गरेपछि उनले लाभ लिन पाए ।
“बेलाबेलामा पेट दुखिरहन्थ्यो । डर लागिरहेको थियो, तर खासै समस्या रहेनछ, ढुक्क भएँ,” उनले भने । उनले भिडियो एक्सरे मात्र गराएनन्, मुटुको जाँच र प्रेसर पनि जाँच गरे ।

पोमबहादुर कुमालले पनि पिसाब र रगत जाँच गरे । “केहि दिनदेखि ज्वरो आइरहेको थियो । गाउँमै स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी लागेको छ,” उनले भने ।
८० वर्षिया मनकला भुसालले शिविरमा दाँत फुकाल्नुका साथै मटुको परीक्षण गराइन् । दैलामै डाक्टरसावहरु आएर जाँच गर्नुभयो,” निकै हँसिलो चेहरामा उनले भनिन्, “दाँतले निकै दुःख दिइरहेको थियो, अब सायद समस्या नहोला ।”
विश्व मुटु दिवसको अवसरमा लायन्स÷लियो क्लव अफ काठमाडौँ लर्ड बुद्धले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा करिब १५ सय जनाले स्वास्थ्य सेवा लिए ।
शिविरको समापन गर्दै पूर्व उपप्रधानमन्त्री तथा जिल्लाका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले स्वास्थ्य क्षेत्र माथि कसैले पनि खेलवाड गर्न नहुने बताए । “स्वास्थ्य क्षेत्रको विकासले अन्य क्षेत्रको विकासलाई पनि टेवा पु¥याउँछ,” उनले भने, “राज्यले ठोस योजना बनाएर यसको विकासमा लाग्नुपर्छ । पछिल्लो समयमा धेरै मानिसहरुले मृगौला क्यानसर, हृदयघातका कारण ज्यान गुमाइरहेका छन् । खानपिनमा ध्यान दिई समयसमयमा स्वास्थ्य परिक्षण गर्ने बानी सबैले बसाल्नुपर्छ ।”
उनले जिल्लाले स्वास्थ्य क्षेत्रमा अपेक्षित फडको मार्न नसकेको भन्दै जिल्ला अस्पताललाई सुविधा सम्पन्न सहित ५० शैयाको बनाएरै छाड्ने दावी गरे । “सामान्य रोग लाग्दा पनि बिरामीहरुलाई धेरै पैसा तिरेर बाहिर जानु पर्ने बाध्यता छ,” उनले भने, “सुविधासम्पन्न अस्पताल बनाई अब हामी जिल्लामा स्वास्थ्य क्षेत्रको विकासमा केन्द्रीत हुनुपर्ने जरुरी देखिएको छ ।”
बलेवाङमा कुमाल समुदायको बाहुल्यता रहेको छ । शिविरबाट यो समुदाय लाभान्वित भयो । शिविरमा सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग पु-याएका थिए । सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टरहरु र अन्य डाक्टरहरु तथा नर्सहरुले स्वास्थ्य परिक्षण गरेका गरेका थिए । बर्दीमा रहेका प्रहरीहरुले मुस्कान सहित स्वास्थ्य परिक्षण गरेको देख्दा स्थानीय दंग परे । “प्रहरीका पनि डाक्टर हुँदा रहेछन् मलाई त थाहा थिएन,” स्थानीय भोजबहादुर कुमालले भने, “सुरुमा डर लाग्यो र हाँसीहाँसी कुरा गर्दै जाँचेपछि सामान्य लाग्यो ।”
क्लवका संस्थापक चार्टर अध्यक्ष विष्णु भण्डारीले क्लवले प्रत्येक प्रत्येक वर्ष मुटु दिवसको अवसर पारेर दुर्गम बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको बताए । “स्वास्थ्यको पहुँचबाट टाढा रहेका विभिन्न बस्तीमा पुगी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौँ,” उनले भने, “धेरै मानिसलाई नयाँ जीवन दिन पाइरहँदा खुसी छौँ ।” क्लबका अध्यक्ष हरि अधिकारीले समान्य स्वास्थ्य समस्या पनि बिस्तारै जटिल हुने भएकाले स्वास्थ्य शिविरले मानिसलाई धेरै फाइदा पु-याउने बताए ।

 


सातामा धेरै पढिएको