सागर परियार
आइतवार, भदौ २९, २०७६
343

जुम्ला- सर्वोदय नेपालले जुम्लामा हालै विभिन्न ठाउँमा महिलाको पाठेघर परीक्षण शिविर चलायो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा विभिन्न ठाउँमा गरी करिब तीन सय जना महिलाले पाठेघर परीक्षण गराए ।
तातोपानी गाउँपालिकाको हाँकु स्वास्थ्य चौकीमा ७८ जना, तिला गाउँपालिकाको रारालिहि स्वास्थ्य चौकीमा ५५ जना र पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा १ सय ५० जनाको पाठेघर परीक्षण गरिएको प्रतिष्ठानका विशेषज्ञ डा. निरेश थापाले बताए । उनका अनुसार पाठेघर परीक्षण गरिएको तीन सय जना महिलामध्ये १९ जना महिलामा पाठेघर क्यान्सको समस्या देखिएको थियो । जसलाई थप उपचारका लागि शिविरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको डाक्टर थापाको भनाइ छ ।

१९ जनाको पाठेघरमा सामान्य शल्यक्रिया समेत गर्नुुपर्ने अबस्था छ भने केहिको त सामान्य घाउसमेत भएको पाइएको थियो । रेफर गरिएका १९ जना महिलाको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै हुनेछ । पाठेघरमा समस्या देखिने १५ वर्षदेखि ४५ वर्ष मुनिका महिला तथा किशोरी रहेका छन् । यसअघि सर्वोदयले सञ्चालन गर्दै आएका शिविरमध्ये तुलनात्मक रुपमा कम भए पनि अझै महिला पाठेघर क्यान्सरको जोखिममै रहेको देखिन्छ ।
सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले भने, “महिलाको पाठेघरमा संक्रमण हुनुको मुख्य कारण भनेको सरसफाईको कमी र कार्यबोझ हो । त्यसमा लागि सर्वोदयको कार्यक्रमले केहि हदसम्म भएपछि पछिल्लो समय कार्यबोझ न्युनिकरण भएको छ । गत वर्षमा सञ्चालन गरिएको शिविरबाट पाठेघरको समस्या भएकी तिला २ की गोरीकला नेपाली, तातोपानी १ की गाडे सार्की र पातारासी ४ की राममाया बुढालाई थप उपचार गरेको थियो । उनीहरू अहिले निकै स्वस्थ छन् ।”
अशिक्षा, चेतनाको कमीकै कारण महिलाहरू बढी काममा पिल्सिने समस्याले पनि पाठेघरको समस्या विकराल हुँदै  गएको कार्यकारी निर्देशक खत्रीले बताए । अझै पनि चेतनामूलक कार्यक्रम गर्ने उनको भनाइ छ । विशेषगरी सानो उमेरमा विवाह गर्ने र बच्चा जन्माउने, गर्भ अवस्थामा ओझिलो भारी बोक्ने बढी काम बढी गर्ने, सरसफाईमा ध्यान नदिने र पोषणयुक्त खानाको अभावले पाठेघरको संक्रमण बढी देखिने गरेको डाक्टर थापाको भनाइ छ ।