कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
700

धनगढी- सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा स्क्रब टाइफसको संक्रमण बढेको छ ।
मुसा जातिमा पाइने एक प्रकारको परजीवी सुल्सुले किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफसबाट डडेल्धुरामा ४० र कैलालीमा ५ जना बिरामी भएका छन् । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कैलाली र डडेल्धुरामा ४५ जना उपचाररत रहेको जनाएको छ ।

स्क्रब टाइफसको संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु भएको छ । बिरामी भएपछि मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको बिहीबार मृत्यु भएको अस्पतालका डा. मोहन भट्टराईले जनाए । भदौ २१ गते अस्पताल भर्ना भएका खातीको आईसीयुमा उपचार भइरहेकोबेला मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुसा जातिमा पाइने एक प्रकारको परजीवी सुल्सुले किर्नामा यो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाई टोकेमा स्क्रब टाइफसको संक्रमण हुने चिकित्सक बताउँछन् । किर्नाले टोकेको ठाउ“मा घाउ हुनु, शरीरमा बिबिरा देखिनु, अत्यधिक ज्वरो आउनु, शरीरका विभिन्न भाग दुख्नु स्क्रब टाइफसका लक्षण हुन् ।
समयमै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने भएको रोगको शंका लागेमा तुरुन्तै अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ ।