केशव समर्पण
बिहिवार, भदौ २६, २०७६
284

हेटौंडा-प्रदेश–३ मा करिब डेढ महिनादेखि फैलिएको डेंगु रोग अझै नियन्त्रणमा आउन सकेको छैन । डेंगु रोगीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशभित्र हालसम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा सबैभन्दा बढी एक हजार ३ सय ४५ जनामा डेंगु भेटिएको छ भने चितवनमा एक हजार ४ सय ६० जना डेंगुका बिरामी फेला परेका छन् ।
 त्यसैगरी मकवानपुरमा सात सय २८ जना डेंगुका बिरामी रहेका छन् भने ललितपुरमा पनि एक सय ५ जना बिरामी भेटिएका छन् । भक्तपुरमा ९६ जना, धादिङमा २३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा दुई र सिन्धुपाल्चोकमा एक जनामा डेंगु फेला परेको मन्त्रालयले जनाएको छ । प्रदेशका १३ जिल्लामध्ये रसुवा, सिन्धुली, रामेछाप र दोलखामा भने रोग देखा नपरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डेंगुको महामारी नै फैलिएपछि प्रदेश–३ सरकारले रोग नियन्त्रणको थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले राजनीतिक दल, टोल सुधार समितिलाई सक्रिय बनाई लामखुट्टेको बासस्थानको रुपमा रहेको जामेको पानी हटाउने अभियान सञ्चालन गर्ने भएको छ ।हरेक हप्ताको शनिबार बिहान सात बजेदेखि आफ्नो वरपर रहेको एक सय मिटर क्षेत्रमा जमेको पानी हटाई लामखुट्टेको बासस्थान नै नष्ट गरी डेंगु नियन्त्रण गर्ने प्रदेश सरकारले योजना बनाएको हो । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी डेंगुबाट बढी प्रभावित हेटौंडा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिकालगायतका स्थानीय तहमा महिला स्वम्सेविका र सुरषा निकायको समेत सहयोग लिई लामखुट्टे र यसको लार्भा र अण्डा रहने स्थानमा ‘खोज र नष्ट गर’ अभियान चलाउने निर्णय गरिएको जानकारी गराए । 
आगामी कात्तिक मसान्तसम्म हरेक हप्ता खोज र नष्ट गर अभियान सञ्चालन गरिने मन्त्री दुलालले जानकारी दिए  । सूचनामूलक सामग्री तयार गरी प्रसारण र वितरणसमेत गर्ने जनाइएको छ । डेंगुरोगीको संख्या दिनानुदिन बढेपछि प्रदेश ३ को प्रदेशसभामा भदौ २३ गते अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता भई छलफल भएको थियो । उक्त प्रस्तावमाथिको छलफलमा डेंगु नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न सांसदहरुले सरकारलाई दबाब दिएका थिए ।

भक्तपुर उच्च जोखिममा
देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा ९९ जना बिरामीमा डेंगु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको संक्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेंगु रोगको जोखिममा रहेको बताए । उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए ।  यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेंगु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेंगु रोग भएको बताए । यसैबीच, भक्तपुर–२ बाट निर्वाचित सांसद महेश बस्नेत लामखुट्टे मार्न आफैं कस्सिएका छन् ।
निर्वाचन क्षेत्रमा डेंगुको जोखिम बढेपछि सांसद बस्नेत आफैं लामखुट्टेको बासस्थान निर्मूल मार्न ‘डेंगु गन’ बोकेर निस्किएका हुन् । गनमा डिजेल, पेट्रोल र जिभ्यानको मिश्रण गरिएको हुन्छ, जसको धुवाँले लामखुट्टे नियन्त्रण गर्छ । मध्यपुर ठिमी नगरपालिकाको मनोहरा खोला आसपासमा बुधबार लामखुट्टे नियन्त्रणका लागि उनी खटिएका थिए ।