कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
488

गोरखा- देशभर डेंगुको संक्रमण फैलिरहँदा गोरखामा भने डेंगु परीक्षण गर्ने किट नै नभएको पाइएको छ । प्रयोगशालामा गरिने विभिन्न परीक्षणमध्ये मानिसको रगत किटबाट परीक्षण गरी डेंगुको संक्रमण भए नभएको पत्ता लगाइन्छ ।
ज्वरो आएका बिरामीको सेतो रक्तकोष जाँच गर्दा ४ हजार भन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता व्यक्तिमा डेंगु हुने सम्भावना रहन्छ । तर किटको अभावमा त्यस्ता समस्या भएका बिरामीलाई डेंगु भए–नभएको एकिन रुपमा परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा डेंगु परीक्षण गर्ने किट नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खडकाले जानकारी दिए । स्वास्थ्य कार्यालयमा शुक्रबार भएको डेंगुरोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सरोकारवालाहरुसँगको बैठकमा यस विषयमा छलफल भएको थियो । छलफलपछि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव रामबहादुर केसीले मन्त्रालयमा यस विषयमा जानकारी गराउने बताए । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आवश्यक परे गोरखा नगरपालिकाले किट खरिदका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा डेंगुको रोकथामका लागि सबै पक्षबीच सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको छ ।
उच्च ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु, उच्च ज्वरो आएको ३, ४ दिनपछि रातोरातो बिमिरा आउनु लगायतका लक्षण यो रोगमा देखिने भएकाले यस्ता समस्या देखिए तुरुन्त डाक्टरको सम्पर्कमा आउन चिकित्सकले सुझाव दिएका छन् ।
दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पूरै ढाक्ने कपडा लगाउन, दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न, बालबालिकालाई सुताउँदा पनि झुलभित्रै सुताउन, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम लगाउन, घरका झ्यालढोकामा जाली लगाउन र घर वरपर सफा सुग्घर राख्न उनीहरुको आग्रह छ ।