सागर परियार
मंगलबार, भदौ २४, २०७६
376

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामै अक्सिजन उत्पादन शुरु भएको छ । नेपालका ६ वटा प्रतिष्ठानमध्ये तेस्रो प्रतिष्ठानका रुपमा कर्णाली अस्पतालमै अक्सिजन उत्पादन शुरु भएको हो ।
नेपालको विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालपछि तेस्रोमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नै अक्सिजन प्लान्ट स्थापना गरेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाइले बताए । उनका अनुसार, पोखरा, राप्ती र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये पहिलो कर्णालीमै अक्सिजन उत्पादन गर्न सफल भएको हो । ६ वटा प्रतिष्ठानमध्ये तेस्रो र मध्यपश्चिमै पहिलो अक्सिजन उत्पादनका रुपमा कर्णाली प्रतिष्ठानलाई लिन सकिन्छ ।

अक्सिजन प्लान्टको उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले अक्सिजन अभावमा सामान्य बिरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने समस्याको अन्त्य भएको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञानको सेवा पैसा नहुनेका लागि लक्षित हुनुपर्नेमा जोड दिए ।
कर्णाली अस्पताले निकट भविष्यमै छिमेकी जिल्लाहरुमा अक्सिजन बेच्ने मन्त्री भण्डारीको दाबी छ । अक्सिजन अभावले ज्यान गुमाउनु पर्ने, महंगो खर्चमा बाहिर जानू पर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न कर्णाली अस्पताल सफल भएको मन्त्री भण्डारीको भनाई छ ।
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले अक्सिजन अभावमा सामान्य बिरामीको पनि उपचार गर्न अन्यत्र पठाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए । बिगतमा अक्सिजन नभएकै कारण कर्णाली अस्पतालले बिरामी अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
२ करोड २० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट खरिद गरिएको छ । झण्डै १ हजार लिटर क्षामता रहेको अक्सिजन प्लान्टले दिनमा १० वटा सिलिन्डर उत्पादन गर्ने छ ।गत आर्थिक वर्षको तथ्यांकअनुसार कर्णाली अस्पतालमा २ सय ८६ जनाले निशुल्क सेवा लिएका छन् भने झण्डै ५३ हजार बिरामीले प्रतिष्ठानमा उपचार गराएका छन् ।