कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६
410

झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर हस्पिटलले डेढ अर्ब रुपैयाँ बराबरको उपकरण भित्र्याएको छ । बीएण्डसी हस्पिटद्वारा सञ्चालित पूर्वाञ्चल क्यान्सर हस्पिटलले क्यान्सरको उपचारका लागि १० प्रकारका आधुनिक उपकरण भिœयाएको अस्पताल प्रशासनले जनाएको छ ।
दक्षिण पूर्वी एसियामा नै पहिलो पटक सो उपकरण पूर्वाञ्चल क्यान्सर हस्पिटलले ल्याएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको दाबी छ । क्यान्सरको पूर्ण उपचारका लागि नेपालमै पहिलो पटक अमेरिकामा निर्माण भएको उच्च प्रबिधिको उपकरण भिœयाको प्रसाईँले बताए ।

चार अर्ब लागतमा डेढ वर्षअघि भवन निर्माणको काम सुरु भएको हस्पिटल आगामी पुस महिनादेखि सञ्चालनमा आउने जनाइएको छ । सन् २०१८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएर हस्पिटलको भवन निर्माणको काम सुरु भएको थियो ।
अस्पातलले ३ सय शय्या रहने गरी स्वीकृति पाएको छ । पहिलो चरणमा १ सय शय्याबाट पुसदेखि सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवले बताए । अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र विभिन्न मेसिन तथा उपकरणहरु जडानको काम भइरहेको डा. यादवको भनाइ छ ।
प्रदेश–१ र २ का क्यान्सरका बिरामीलाई लक्षित गरेर हस्पिटल सञ्चालनमा ल्याउन लागेको डा. यादवले बताए । “पुसदेखि हाम्रो अस्पताल सञ्चालनमा आउँछ,” यादवले भने, “क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै प्रदेश– १ र २ मा रहेका क्यान्सरका बिरामीले सहज रुपमा उपचार सेवा पाउने छन् ।
प्रदेश– १ र २ मा क्यान्सर अस्पताल नहुँदा क्यान्सरका बिरामीले उपचारका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता रहँदै आएको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सरको उपचारका लागि भारत धाउँदै आएका बिरामीले नेपालमा नै सहज रुपमा उपचार पाउने डा. यादवको दाबी छ ।