बारा जिल्ला अस्पताल, ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेका दर्जनौं स्वास्थ्य केन्द्रमा राज्यले निःशुल्क उपलब्ध गराएको औषधी नभएपछि यहाँ उपचार गराउन आएका सेवाग्राहीले सास्ती पाएका छन् । सरकारीमा औषधी नपाएपछि निजी क्लिनिकबाट महँगोमा औषधी किन्न बाध्य भएका छन् ।
औषधी अभाव भएपछि सेवाग्राही समस्यामा परेको स्वास्थ्य केन्द्र सिमराका डा. प्रभा रश्मिले जानकारी दिइन् । राज्यले निःशुल्क उपलब्ध गराउने भनिएका औषधीमध्ये आफूहरुसँग १६ प्रकारको औषधीमात्र उपलब्ध रहेको भन्दै उनले थप औषधीको लागि पटक पटक ताकेता गर्दा पनि नआएको बताइन् । सधै आवश्यक पर्ने जीवन जलसमेत बिरामीलाई दिन नसकेको डा. रश्मिले गुनासो पोखिन् । उपमहानगरपालिकाले समयमै औषधी उपलब्ध गराउन नसकेकै कारण अभाव भएको उनको भनाइ छ ।
आफूहरुसँग सबै औषधी भएपनि ठाउँ व्यवस्थापन हुन नसक्दा समयमै स्वास्थ्य केन्द्रसम्म पु-याउन नसकेको जीतपुर सिमरा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक बाबुलाल सहनीले बताए । उनले हरेक तीन महिनामा सेवा केन्द्रहरुमा औषधी पठाउँदै आएको बताउँदै औषधीको अभाव नभएको तर औषधी राख्ने गोदामको व्यवथापन गर्न नसक्दा केही ठाउँमा अभाव देखिएको जानकारी दिए ।