सागर परियार
शुक्रवार, असार २७, २०७६
349

जुम्ला-तिला गाउँपालिका–८, ९ वडा जुम्लाकै सबैभन्दा दुर्गम ठाउँ हो । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका न्यूनतम सेवा पाउन पनि मुस्किल छ त्यहाँका नागरिकलाई ।
तर स्थानीय सरकार आइसकेपछि पहिलो पटक तिलाको ८, ९ रासा मालपानी, खोप्री र ढिपु गाउँलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कुष्ठरोग पत्ता लगाउन चर्मरोग स्वास्थ्य शिविर तिलाको स्वास्थ्य शाखाले दुर्गममा पुगेर सञ्चालन गरेको छ । स्वास्थ्य शाखा संयोजक जगदिश नेपालीका अनुसार राँसा मालापानी गाउँका दुईजना व्यक्तिलाई कुष्ठरोग भएको पाइएको थियो ।

आर्थिक हिसाबले विपन्न, सदरमुकाम आएर उपचार गराउन सडकको सहज पहुँच नभएको कारणले गर्दा विगतमा भएको शंकास्पद हिसाबले कुष्ठरोग पत्ता लगाउन शिविर चलाएको उल्लेख गरे । असार २५ गते राँसा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको १ दिने शिविरमा झण्डै एक सय ३५ जनाको स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य संयोजक नेपालीले बताए । उनका अनुसार ७८ जना महिला र ५७ जना पुरुषलाई चेकजाँच गरिएको एकजना कुष्ठरोगी पत्ता लागेका छन् । नाम परिवर्तित एक महिलालाई कुष्ठरोग भेटिएको कुष्ठरोग विशेषज्ञ धनबहादुर बुढाले बताए । उनका अनुसार रोगीलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।
योसँगै रासा मापापानीमा ३ जना कुष्ठरोगी छन् भने कुष्ठरोगले दुर्गम बस्ती नै जोखिममा रहेको बुढाले उल्लेख गरे । “दुर्गममा सधै काम गर्ने, खानपान, सरसफाइमा ध्यान नदिएकै कारण यस्तो समस्या हुन्,” विशेषज्ञ बुढाले भने, “दुर्गम बस्ती कुष्ठरोगको जोमिखममा छन् । पटकपटक उपचारदेखि दुर्गम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले यस्ता रोग न्यूनीकरणका लागि शिविर सञ्चालनमा जोड दिनुपर्ने बताइन् । आगामी बजेटमा तिलाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको समेत उल्लेख गरिन् ।