कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
339

कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको कुरा साँचो भएको स्वास्थ्य चौकी पिनाका इन्चार्ज पदमबहादुर सेजवालले बताए । अनमी अभावले यस्तो समस्या भएको उनको भनाइ छ । “स्वास्थ्य चौकीसँगै २०६९ सालमा बर्थिङ्ग सेन्टर स्थापना भएयता पद्मा नेपालीलार्ई कार्यालय सहयोगीका रुपमा भर्ना गरेका हौं । उनको काम सुत्केरी महिलाको सरसफाइ गर्ने हो तर दरबन्दी अनुसारका अनमी छैनन् । भएका पनि राजनीतिक खिचातानी गरेर कागजमा तान्छन्,” उनले भने, “बिरामी स्वास्थ्य चौकीमा आउँछन्, छटपटिन्छन् । बाध्य भएर अनुभवको आधारमा कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको हो ।”

मुगु जिल्लाको एकमात्र नगरपालिका हो, छायाँनाथ रारा नगरपालिका । नगरपालिकामा एउटामात्र स्वास्थ्य चौकी छ । त्यसमा पनि दक्ष जनशक्ति छैनन् । स्थिति यति दर्दनाक छ कि कार्यालय सहयोगीले प्रसूति गराइरहेकी छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउँदै आएकी हुन् ।
२०६९ सालदेखि वर्थिङ सेन्टर स्थापनासँगै कार्यालय सहयोगीमा भर्ना भएकी पदमकला नेपालीले बिना तालिम तथा पढाइलेखाइ अनुभवका आधारमा सुत्केरी गराउँदै आएकी छन् । “गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य चौकी ल्याउँछन् । स्वास्थ्यकर्मी हँुदैन, बाध्य भएर अनुभवको आधारमा सुत्केरी गराउँदै आएको छु,” उनले भनिन् । सुत्केरी हुन आएकी गर्भवती महिलालाई सहज रुपमा सुत्केरी गराएको र आजसम्म कुनै घटना नघटेको नेपालीले सुनाइन् । चालू आर्थिक वर्षमा पिना स्वास्थ्य चौकीमा ७१ जना जना गर्भवती महिला स्वास्थ्य चौकीमा आई सुत्केरी भएका पिना स्वास्थ्य चौकीले जनाएको छ ।
त्यसमध्ये एक दर्जनभन्दा बढी गर्भवती महिलालाई एक्लै सुत्केरी गराएको र बाँकी गर्भवतीलाई स्वास्थ्यकर्मीलाई खबर गरी सुत्केरी गराएको नेपालीको भनाइ छ ।
उनी सुत्केरी मात्र गराउँदिनन्, सुई लाउने काम पनि गर्छिन् । सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाँदा स्वास्थ्यकर्मी नहुने हुँदा बाध्य भएर कार्यालय सहयोगी भएपनि विश्वासका साथ सुत्केरी गराउन दिने गरेको स्थानीयको भनाइ छ ।
कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको कुरा साँचो भएको स्वास्थ्य चौकी पिनाका इन्चार्ज पदमबहादुर सेजवालले बताए । अनमी अभावले यस्तो समस्या भएको उनको भनाइ छ ।
“स्वास्थ्य चौकीसँगै २०६९ सालमा बर्थिङ्ग सेन्टर स्थापना भएयता पद्मा नेपालीलार्ई कार्यालय सहयोगीका रुपमा भर्ना गरेका हौं । उनको काम सुत्केरी महिलाको सरसफाइ गर्ने हो तर दरबन्दी अनुसारका अनमी छैनन् । भएका पनि राजनीतिक खिचातानी गरेर कागजमा तान्छन्,” उनले भने, “बिरामी स्वास्थ्य चौकीमा आउँछन् ,छटपटिन्छन् । बाध्य भएर अनुभवको आधारमा कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको हो ।”
एसपिए तालिम प्राप्त स्वास्थ्यकर्मीले मात्र सुत्केरी गराउनुपर्ने नियम छ । तर, मुगुमा त्यस्ता दक्ष जनशक्ति छैनन् । पिना स्वास्थ्य चौकीमा दुई जना स्थायी र एक जना अस्थायी अनमीको दरबन्दी भए पनि अहिले कोही छैनन् । एकजना भर्खरै कागजमा ल्याइएकी अनमी भए पनि उनको घर टाढा भएकाले राति आउने गर्भवती महिलालाई कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको इन्चार्ज सेजुवालको भनाइ छ ।
अनमी व्यवस्थापन तथा कार्यालय सहयोगीले सुत्केरी गराउनुपर्ने अवस्थाबारे सम्बन्धित निकायमा जानकारी गराएको भएपनि चासो नदेखाएको इन्जार्ज सेजुवालले गुनासो गरे ।
पिना बर्थिङ्ग सेन्टमा कर्मचारी छैनन् भन्ने कुरा छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य फाँटमा जानकारी गराएको भएपनि सुनुवाई नभएको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष हरि चन्द्र शाहीले बताए । कुनै अप्रिय घटना घटेमा सम्बिन्धत स्वास्थ्य इन्चार्ज र स्वास्थ्य व्यवस्थापन समितिले जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
छायाँनाथ रारा नगरपालिकाका स्वास्थ्य फाँट प्रमुख पशुपति शाहीले नियमले तालिम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी गराउनुपर्ने भए पनि कर्मचारी समायोजनसँगै बर्थिङ्ग सेन्टरमा जनशक्ति अभाव भएको स्वीकार गर्दै जनशक्ति अभाव छ भन्दैमा कार्यालय सहयोगीबाट सुत्केरी गराउन नमिल्ने बताए ।
यता स्वास्थ्य कार्यालय मुगुका डा. सुरज गरौंले यसबारे आफूलाई जानकारी नभएको बताए । यसका विषयमा सम्बन्धित स्थानीय सरकारले निगरानी राख्नुपर्ने उनको भनाइ छ ।

दानबहादुर बुढा