कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
339

सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्थालाई छनोट गरेको छ । मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि यसअघि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार रहेको थियो । मलेसियाले पठाएको मापदण्ड अनुसार नयाँ स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरिएको थियो । पहिलेको ३७ मध्ये अहिलेको नयाँ मापदण्डअनुसार ३६ वटा छनोट भएका छन् । नेपाल र मलेसियाबीच गएको कात्तिकमा भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड आफैं बनाउने उल्लेख भए अनुसार नयाँ मापदण्ड पठाएको थियो । २ सय ९० वटा स्वास्थ्य संस्थाहरुले आवेदन भरेकोमा ९० वटा सस्थाहरु छनोट भएका हुन् । १ सय ३८ वटा संस्थाहरुले मलेसिया सरकारबाट प्राप्त भए बमोजिमको मापदण्ड पूरा नगरेको देखिएको थियो । नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायत अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले बेहोर्ने उल्लेख गरिएको छ । श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको भन्दै त्यस्ता संस्थाहरुलाई कारबाही गर्न निर्देशन दिएका थिए । हाल मलेसियामा कामदारहरुलाई रोजगारीमा जानका विगत एक वर्षदेखि पूर्ण रुपमा रोक लगाइएको छ ।