कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
270

स्याङ्जाको वालिङमा डायलाइसिस केन्द्रको स्थापना गरिने भएको छ । वालिङ नगरपालिका–१० भकुण्डे फूलबारीमा रहेको तात्कालीन गेस्ट हाउसमा डायलाइसिस केन्द्र स्थापना गर्न लागिएको हो । डायलाइसिस केन्द्र स्थापना गर्न वालिङ नगरपालिका र बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच सम्झौतामा पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँण र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नगरपालिकाको स्वामित्वमा रहेको तात्कालिन गेस्ट हाउसको भवनमा डायलाइसिस केन्द्र स्थापना गरिनेछ । नगरपालिकाले उक्त भवन गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई निःशुल्क उपलव्ध गराएको हो । केन्द्र स्थापना गर्न १५ वर्षका लागि सम्झौता गरिएको वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले जानकारी दिए । रोटरी डायलाइसिस सेन्टर वालिङ नगरपालिकाको संरक्षकत्व र रोटरी क्लब अप्m वालिङको सहयोगमा सञ्चालन गरिने छ ।

‘स्मार्ट सिटी’ वालिङको रूपमा अगाडि बढिरहेकोे नगरपालिकाका जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाको स्वामित्वमा रहेको गेस्ट हाउस र त्यसले चर्चेको झण्डै ४ रोपनी जग्गा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई निःशुल्क रूपमा उपलव्ध गराउने सहमति भएको नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँणले बताए । साताको २÷३ पटक डायलाइसिस गर्नुपर्ने अवस्था रहने भएकाले सेवा सञ्चालनपछि बिरामी पोखरा र बुटवल जानुपर्ने अवस्था अन्त्य हुने विश्वास नगरपालिकाले गरेको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले वालिङ नगपालिकाले उपलब्ध गराएको भवनलाई मर्मत संहार गरेर ३ महिनाभित्र केन्द्र सञ्चालनमा ल्याउने बताए ।
मृगौलाको समस्या अत्यन्तै संवेदनशील भएकाले आफूहरूले जतिसक्दो सहज सेवा उपलब्ध गराउने आलमले बताए । रोटरी क्लब अप्m वालिङका अध्यक्ष मधुसूदन आचार्यले वालिङमा निःशुल्क रूपमा सेवा दिने गरी डायलाइसिस केन्द्र स्थापना भएसँगै वालिङ तथा आसपासका क्षेत्रका सेवाग्राहीले सहज सेवा लिनसक्ने बताए ।