कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६
672

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा पर्यटकको लागि लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा शिविर सञ्चालन हुन लागेको हो । हिल्सा नेपाल र चीनको सीमा क्षेत्रमा पर्ने गर्दछ । समुद्री सतहबाट करिब ४ हजार मिटर उचाईमा रहेको सो क्षेत्रमा पहिलो पटक स्वास्थ्य विशेषज्ञको टोली खटिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनशक्ति र सामाजिक विकास मन्त्रालयको आर्थिक तथा औषधी सामग्रीको व्यवस्थापनपछि स्वास्थ्य क्याम्प खडा गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।

मानसरोवर जाने पर्यटकलाई उच्च भेगमा लेक लाग्ने, अन्य स्वास्थ्य समस्या आउने भएका कारण कर्णाली प्रदेश सरकार चनाखो भएर यो व्यवस्था गरेको मन्त्री रावलले बताए । पर्यटकको आवागमन भइरहने समयसम्म ५ जना स्वास्थ्य विशेषज्ञको समूह हिल्सामा खटाइएको मन्त्री रावलको भनाइ छ । गएको वर्ष १४ जना तीर्थयात्रीले लेक लागेकै कारण ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष मन्त्रालयले राहतस्वरुप यो कार्यक्रम ल्याएको उनले बताए ।
मानसरोवर कैलाश यात्रामा निस्कने पर्यटकलाई लेक लाग्ने समस्यालाई ध्यानमा राखी २ जना डाक्टर र २ जना नर्ससहितको समूहले हिल्सामा सेवा प्रदान गरिरहेको छ । पर्यटकको आवागमन रहेसम्म आफूहरुले सेवा गर्र्ने डा. सूर्य लिम्बूले बताए ।
हुम्ला र हिल्सा नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न जाने पर्यटक गत वर्ष १२ हजार भएपनि यो वर्ष ११ हजारको संख्यामा हिल्सा हुँदै जाने अनुमान गरिएको छ । यसबाट सिमकोट र नाम्खा गाउँपालिकाले हरेक वर्ष ५० लाखभन्दा बढी राजस्व संकलन गर्ने गरेका छन् । यहि महिनामा नै भारतीय पर्यटकबाट ८ लाख राजस्व संकलन भइसकेको छ । हाल नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट पर्यटक सिमकोट आई हेलिकोप्टरबाट हिल्सामा उच्च भेगमा यात्रा गर्नुपर्ने भएकाले लेक लाग्ने समस्या हुने गरेको छ ।