कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६
353

सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रभित्रका विद्यालयले विद्यालयमा नै किशाोरीहरूलाई सेनेटरी प्याड बनाउन सिकाउने भएका छन् । महिनावारीका समयमा किशोरीहरू विद्यालय नआउने समस्यालाई मध्यनजर गर्दै उनीहरूलाई प्याड बनाउन सिकाइने भएको हो ।
कम लागतमा पुनः प्रयोग गर्न सकिने कपडाको सेनेटरी प्याड बनाउने सीप सिकाइने विद्यालयले जनाएका छन् । सामुदायिक विद्यालयमा आयस्रोत कम भएका तथा गरिब विद्यार्थी अध्ययन गर्ने भएकाले महिनैपिच्छे प्याड किन्न समस्या हुने गरेको भन्दै उनीहरूलाई नै सीप सिकाउन थालिएको शिक्षक शकुन्तला श्रेष्ठले बताइन् ।
शनिबार सिन्धुलीमाढीमा आयोजित महिला शिक्षकका लागि सेनेटरी प्याड निर्माण र प्रयोगसम्बन्धी कार्यशालामा सहभागी भएका सबै विद्यालयले यो अभ्यास गर्ने भएका छन् । सो कार्यक्रममा नगर क्षेत्रभित्रका विभिन्न १० वटा विद्यालयका २० जना महिला शिक्षकको सहभागिता रहेको थियो । कार्यशालामा सहभागी तिनै शिक्षकले अब आ–आफ्नो विद्यालयमा गई किशोरीहरूलाई तालिम दिनेछन् ।
कार्यशाला आयोजना गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समिति सिन्धुलीका अध्यक्ष रामेश्वर दाहालका अनुसार तालिममा सहभागी महिला शिक्षकले अनिवार्य रूपमा आफ्नो विद्यालयका अन्य शिक्षक तथा किशोरीहरूलाई प्याड बनाउन र प्रयोग गर्न सिकाउने छन् । विद्यालयले शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत यो सीप किशोरी अर्थात् बालिकाहरूलाई प्रदान गर्ने अध्यक्ष दाहालले बताए । कार्यशालामा नगरपालिकाभित्रका महिला शिक्षकलाई प्रयोगात्मक रूपमा नै सेनेटरी प्याड बनाउन सिकाइएको थियो भने प्रयोग गर्ने तरिकाबारे पनि जानकारी गराइएको थियो ।
शिक्षक संगठनले पेशागत हकहितबाहेक रचनात्मक कार्य गर्दै विद्यालय र कक्षा कोठासम्म पुग्ने प्रयास गरिएको अध्यक्ष दाहालले बताए । कम लागतमा पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड बनाउन सीप सिकाएर सरकारको राष्ट्रिय कार्यक्रममा सहयोग पु¥याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको उनले बताए । उनले भने, “नगर क्षेत्रकै केही विद्यालयले किशोरीहरूलाई यो अभ्यास गराइसकेका छन् । त्यसैको आधारमा हामीले पनि किशोरीहरूलाई नियमितरूपमा विद्यालय ल्याउन सुरुवात गरेका हौं ।”
“महिनावारी भएको समयमा छात्रा विद्यालयमा नआउने, विद्यालयमा भएको समयमा छात्रालाई असहज हुने भएकाले कतिपयले बीचमा पढाइ छोड्ने र पढाइमा असर पर्ने समस्या धेरै छन् । त्यसैले प्याड पुनः प्रयोग गर्न मिल्ने खालको र वातावरणमैत्री र गरिब छात्राले पनि सजिलै र सस्तैमा बनाउन सकिन्छ भन्ने किशोरीहरूलाई जानकारी गराउन सके पैसाको पनि बचत हुने थियो ।” दाहालले भने, “रजश्वला भएकी एक छात्रालाई महिनामा १६ वटा सेनेटरी प्याड आवश्यक पर्छ, जसको मूल्य एक सय ५० रुपैयाँ पर्ने तथा वर्षमा दुई हजार मूल्य बराबरको प्याड आवश्यक हुन्छ ।”

विद्यालयमै निःशुल्क प्याड
सिन्धुलीकै कमलामाई नगरपालिका–१३ माथिल्लो रानीवासमा रहेको प्रभात माविले भने किशोरीहरूलाई विद्यालयमा नै निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । छात्रामैत्री विद्यालयका रूपमा परिचित यस विद्यालयले सेनेटरी प्याड बनाएर छात्राहरूलाई निःशुल्क वितरण गर्दै आएको    छ ।
१० कक्षामा अध्ययनरत छात्राले ९ कक्षाकालाई प्याड बनाउन सिकाउने गरेका छन् । त्यो क्रम प्रत्येक वर्ष दोहोरिरहन्छ । प्याड बनाउन चाहिने सामग्री भने विद्यालयले जुटाइदिने गरेको विद्यालयका प्रध्यानाध्यापक अरुणकुमार थिङले बताए । “सस्तो पनि पर्ने र आफैंले बनाउँदा छात्राहरूमा आत्मबल बढ्ने ।” उनले भने, “प्याड नभएर कुनै पनि छात्राले विद्यालयबाहिर बस्न नपरोस् भनेर उनीहरूलाई नै तालिम दिएर बनाउन लगाइएको हो ।” विद्यालयले चाहिने सामग्री गज, कटन, कैंचीलगायतका सामानको व्यवस्था गरिदिएको थिङले बताए ।