कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६
436

भूकम्पबाट क्षतिग्रस्त थापाथलीस्थित परोपकार प्रसूतिगृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
एक महिनाभित्रमा दुवै भवन सञ्चालन आउने गरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पुनर्निर्माण कार्यक्रमअन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् अघि बढेको दुवै भवनको पुनर्निर्माणको काम भइरहेको छ ।

प्रसूतिगृहको अत्याधुनिक मुख्य भवनमा १९२ वटा शैया छन् । प्रसूतिगृहको भवनमा इमरजेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोस्ट अपरेसन वार्डलगायतका सेवा हुनेछन् । प्रसूतिगृहका प्रशासक रानु थापाले भवन पुनर्निर्माण कार्य करिब सकिएको भन्दै आन्तरिक रूपमा संरचना मिलाउने काम भइरहेको बताए । वीर अस्पतालको भवनमा भने ९४ शैया छन् । नयाँ भवनमा कार्डियोलोजी वार्ड, ग्याट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्ड हुनेछन् ।
पुनर्निर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा अबलम्वन गरिएको अझ राम्रो र बलियोको अवधारणाअनुसार स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण भइरहेको बताए । उनले सुविधा सम्पन्न पूर्वाधार भएका संरचनाबाट स्वास्थ्य सेवा प्रदान गर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास अझ बढ्ने धारणा व्यक्त गरे ।
वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उद्घाटनपछि सञ्चालनमा ल्याइने बताए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का पुनस्र्थापना तथा पुनर्लाभ कार्यक्रम सल्लाहकार नानाको स्युकाहाराका अनुसार प्रसुति गृह र वीर अस्पताल पुननिर्माणको लागत २ अर्ब १० करोड रूपैयाँ छ ।