कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
321

रुकुम- त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ । गाउँपालिकाले किशोरीका लागि प्याड उपलब्ध गराएको हो । विद्यालयको ३५ औँ अभिभावक भेलामा किशोरीहरुले माग गरेपछि प्याड उपलब्ध गराइएको वडाध्यक्ष राजेन्द्र पुनले जानकारी दिए ।
अहिले तत्काललाई ५५ थान प्याड विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए । प्याडसहित प्राथमिक उपचारका सामग्री पनि उपलब्ध गराइएको वडाध्यक्ष पुनले जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा आगामी दिनमा प्याडसहित प्राथमिक उपचारका सामग्री उपलब्ध गराइनेछ ।
विद्यालयमा प्याडको व्यवस्था नहुँदा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको भन्दै किशोरीहरुले प्याडको माग गरेको र यो माग आफूले गाउँपालिकामा राखेपछि प्याडको व्यवस्था गरिएको वडाध्यक्ष पुनको भनाइ छ । विद्यालयमै निःशुल्क रुपमा प्याड पाइने भएपछि विद्यालयमा अध्यनरत किशोरीहरु हर्षित भएका छन् । उक्त सामग्री वडाध्यक्ष पुनले विद्यालयका प्रधानाध्यापक खीमबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।