कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
375

‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाविरुद्ध सत्याग्रहमा रहेका नर्सद्वय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । बराल र शेर्पा भक्तपुरस्थित सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त अभियानले यस्तो अपिल गरेको हो । कार्यक्रममा ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता डा. सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखे । सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पूरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ ।

त्यस्तै, नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्कत्ता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाइन् । सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ ।
नर्सहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति पनि नभएको भन्दै उनले नर्सहरुमाथि अत्याचार कायमै रहेको पनि गुनासो पोखिन् । सरकारले देशभरिका नर्सहरुको हकहित र भोग्दै आएका समस्याहरुको सम्बोधन हुनेगरि जारी गरेका मागहरु पूरा हुनुपर्ने उनको धारणा छ ।
नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीले स्नातकोत्तर गरिसकेको नर्सहरुले अहिले नेपालमा स्टार्फ नर्सले गर्र्ने व्यवहार भोग्दै आइरहेको बताइन् । नर्सहरु सन्तुष्ट रुपमा नेपालमै रहेर काम गर्ने वातावरण नभएको बताउँदै उनले नर्सहरुको समस्यालाई नीति, नियम निर्माणको आँखाबाट हेर्न पनि जोड गरिन् ।