कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६
334

मोरङको कटहरी–४ स्थित क्वालिटी केम प्रालिले रसायनयुक्त पानी सिधै खोलामा मिसाउँदा स्थानीय चर्मरोगबाट पीडित भएका छन् ।
स्थानीयवासी चर्मरोगको शिकार हुनुका साथै चौपायासमेत मरेको स्थानीय रञ्जितसिंह कोइरीले बताए । उद्योगले हानिकारक रसायनयुक्त पानी सिधै खोलामा मिसाउँदा कटहरी आसपासका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । प्रदूषणयुक्त खोलाको पानीमा नुहाएका कारण स्थानीय चर्मरोगको शिकार भएका छन् । खोलाको पानीमा नुहाएकै कारण स्थानीयलाई चर्मरोग लागेको छ । खोलाको पानीमा नुहाएर बिरामी भएपछि अहिले औषधि सेवन गर्नुपरेको उनीहरूको भनाइ छ । “खोलाको पानीमा नुहाउँदा जिउभरि घाउ आएको छ,” स्थानीय रामसागर सिंहले भने, “प्रदूषित पानी खोलामा नमिसाउन पटक–पटक आग्रह गर्दा पनि उद्योग प्रशासनले बेवास्ता गरेको छ ।”

खोलाको प्रदूषित पानीका कारण कटहरी–४ मा पर्ने सिंगो फुलटोलका बासिन्दा प्रभावित भएका छन् । खेती किसानी र पशुपालन गर्ने टोलका बासिन्दा खोलामै आश्रित रहेका कारण पनि बढी पीडित हुनु परेको हो । रसायनयुक्त पानी खाएकै कारण चौपाया मरेको स्थानीय जसाई मुर्मुले बताए । प्रदूषित पानीका कारण सर्वसाधारण र चौपायाका साथै स्थानीयको तरकारी खेतीमा समेत प्रतिकूल असर परेको छ । खोलाको पानी पटाएकै कारण आफ्नो टमाटर खेती नष्ट भएको स्थानीय सुनिल सिंहको भनाइ छ ।
साबुन, सर्फ र वनस्पति घ्यू उत्पादन गर्ने सो ठाउँको क्वालिटी केमले उद्योगकै पछाडि रहेको लोहन्द्रा खोलामा सिधै हानिकारक रसायनयुक्त पानी मिसाउने गरेको छ । उद्योग परिसरबाट अन्डरग्राउन्ड नाला बनाएर उद्योगले खोलामा प्रदूषणयुक्त पानी मिसाउने गरेको छ । पटकपटक अनुरोध गर्दा समेत पानी मिसाउन नछाडेपछि स्थानीय युवाले बिहीबार उद्योग परिसरमा होहल्ला गर्दै प्रदर्शन गरेका थिए । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले खोलामा प्रदूषण मिसाउन नपाइने बताए । “छानबिनका क्रममा दोषी भेटिए उद्योगमाथि कारबाही हुन्छ,” अध्यक्ष कामतले भने ।