कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६
355

भर्खरै बिहानको १० बजेको थियो । प्यूठान नगरपालिका–६ माझकोट खलिगाउँका ८९ वर्षिय चुरबहादुर घर्ति बिहानको खाना खाएर विस्तारामा विश्राम गर्दै थिए । यत्तिकैमा एक जना स्थानीय अगुवासँगै माझकोट स्वास्थ्य संस्थाका इन्चार्जको टोली उनको घरमा पुग्यो ।
परिचयको क्रममा स्वास्थ्य अवस्थाका बारेमा चेकजाँज गर्न आएको भन्दा उनलाई अचम्म लाग्यो । त्यसो त उनी त्यत्ति बिरामी पनि थिएनन् । स्वास्थ्य कार्यालयको कार्यक्रम अन्तरगत वृद्धावृद्धलाई महिनामा एक पटक घरमै उपचार सेवा दिन थालेको स्वास्थ्य संस्थाका इन्चार्ज हेल्थ असिस्टेन्ट धर्मराज पालले उनलाई सुनाए । डाक्टर घरमा आई उपचार सेवा दिन थालेको सुन्दा खुसी रहेका घर्तिले अचम्म मान्दै भने, “पहिले साह्रै खुट्टा दुखेर औषधि गर्न हिँडे तर बेथा पत्ता लागेन । त्यत्ति भर त लाग्दैन, त्यै पनि जाँचौं न ।” जाँच पश्चात घर्तीको रक्तचाप, मधुमेह, श्वासप्रश्वास सबै सामान्य रहेको हेल्थ असिस्टेन्ट पालले बताए । कम देख्न थालेका घर्तिको आँखामा मोतियाविन्दूको समस्या देखिएकोले तत्काल आँखा अस्पतालमा जान उनले सुझाए ।

जिल्लामा जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार सेवा थालनीसँगै यहाँका जेष्ठ नागरिकलाई राहत मिलेको छ । गाउँमा ८ जना जेष्ठ नागरिक रहेको हेल्थ असिस्टेन्ट पालले बताए । “वैशाख महिनादेखि उहाँहरुलाई घरमै पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएका छौं,” उनले भने, “उपचार पश्चात् औषधी र बढी समस्या रहेकालाई बाहिर जान समेत सुझाव दिएका छौं ।” प्रदेश सरकारको कार्यक्रम अन्तरगत जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै उपचार सेवा दिन थालिएको हो । प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा ८० वर्ष माथिका नौ सय १८ जना वृद्धवृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए । “सम्बन्धित वार्डमा रहेका स्वास्थ्य संस्था मार्फत महिनामा कम्तीमा दुई पटक घरदैलो सेवा दिन थालेका छौ,” सुवेदीले भने, “वैशाख महिनादेखि सेवा दिन थालिएको हो ।”
उनका अनुसार क्षयरोग, एचआईभी, रक्तचाप, जण्डिस, श्वासप्रश्वास सम्बन्धि जाँच, आँखाको जाँच, रगतमा चिनी मात्रा, पिसाबमा प्रोटिनको मात्रा जाँच, फोक्सोको संक्रमण, मृगौला, आँखा,कान, दात लगाएत रोगको जाँच गरिन्छ । स्वास्थ्य चौकीसम्म उपचारका लागि पुग्न नसक्ने जेष्ठ नागरिक घरमै स्वास्थ्यकर्मी आउँदा खुशी छन् । स्वास्थ्यकर्मीले जेष्ठ नागरिकमा भएको समस्याको जाँच तथा उपचार र औषधी वितरण गर्दा उनीहरु खुशी भएका हुन् । “स्थानीय तहको समन्वयमा जिल्लाभर कार्यक्रम संचालन भएको छ,” जनस्वास्थ्य अधिकृत सुवेदीले भने, “स्थानीय तहको अपनत्वसँगै यसको प्रभावकारिता बढ्ने छ ।”

प्रज्वल पहाडी