कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६
267

ग्रान्डी अस्पतालले राजधानीमा निःशुल्क रुपमा ‘गर्भ संस्कार’ सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्त्री तथा प्रसूति विभागले पहिलो पटक गर्भवती महिला र शिशुको स्वास्थ अवस्था र हेरचाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा ‘गर्भ संस्कार’ सम्बन्धी ८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा डा. बन्दना श्रेष्ठले गर्भाअवस्थामा शारीरिक क्रियाकलाप, डा. आभा शाक्यले गर्भावस्थामा पौष्टिक खानपान, डा. समिरा सफि खानले गर्भावस्थामा हुने स्वास्थ्य जटिलता, डा. विनोद विजुक्छेले गर्भावस्थाको समयमा हुने ढाड दुखाई, फिजियो थेरापिष्ट श्रृजना तिमिल्सिनाले गर्भावस्थामा गर्न मिल्ने व्यायाम, सिनियर नर्स नारायणी थापा र कृष्णा प्रजापतीले नवजात शिशु तथा आमा स्याहार र स्तनपान सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको संयोजन अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. समिरा सफि खानले गरेकी थिइन् । कार्यक्रममा स्वास्थ्यकर्मी, सर्वसाधारण र सञ्चार माध्यमको उल्लेख्य उपस्थिति रहेको थियो ।