मेगराज खड्का
सोमवार, बैशाख ३०, २०७६
270

रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्लेको करिब तीन दशकपछि पुनर्निर्माणको काम सुरु भएको छ । जीर्ण बनेको अस्पताललाई नयाँ जीवन दिन भौतिक संरचना मर्मतको काम थालिएको हो ।
झण्डै ३१ वर्षपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरिदका लागि भनेर ६० लाख बजेट दिएपछि काम थालिएको हो । भवनका जस्ता फेर्न, भित्तामा प्लास्टर गर्ने, टायल बिछ्याउने तथा सडक निर्माणको काम गर्ने गरी काम थलिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालभित्र गर्ने मर्मतका सबै काम सुरु गरिएको छ ।

अस्पतालको अन्तरंग, प्रयोगशाला र अप्रेशन कक्ष रहेको भवनको जस्ता फेरिने छ । यी तीनवटै भवनको भित्री भित्तामा प्लास्टरका साथै भुइँमा टायलिङ र माथिपट्टि फर्सिलिङ गर्ने काम सुरु भएको छ । आकस्मिक कक्ष र प्रसूति गृहको भुइँमा पनि टायलिङ तथा माथिपट्टि फर्सिलिङ गरिने छ । भवन पुरानो जीर्ण भइसकेकाले मर्मत थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले बताए । “यी भवन निकै पुराना र जीर्ण छन्, विकसित समयअनुसारको बिरामीमैत्री तथा कामकाजका लागि पनि उपयुक्त बनाउका लागि मर्मतको काम भइरहेको छ,” अध्यक्ष ओलीले भने, “अर्को भवन नबन्दासम्मका लागि भए पनि मर्मत थालिएको छ ।” आवश्यक भए पनि तत्कालै अर्को भवन बनाउन सक्ने अवस्था नभएपछि प्रदेश सरकारसँग बजेट माग गरेर मर्मतको काम थालिएको अध्यक्ष ओलीको भनाइ छ । अस्पतालको गेटदेखि आकस्मिक कक्षासम्मको सडकलाई पनि यसै बजेटबाट पक्की बनाइने छ । बिरामीलाई आकस्मिक कक्षसम्म पु¥याउने बाटो कच्ची भएकाले वर्षामा समस्या भएको गुनासो सर्वसाधारणबाट आएको थियो । उक्त बाटो पनि यही बेला पक्की गराइने व्यवस्थापन समितिले जनाएको छ । प्रदेश सरकारको ६० लाखमध्ये ५० लाखले भौतिक संरचना मर्मत गरिए पनि १० लाख बजेटबाट अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्ने तयारी भइरहेको छ । विशेषगरी बिरामी बेड, म्याट्रेस र बेड साइड लकर खरिदको तयारी गरिएको छ । कतिपय बेड अस्पताल बन्ने बेलादेखिकै छन् । त्यस्तो बेडमा विरामी बस्न तथा सुत्न समस्या भइरहेको छ । त्यसैले २२ वटा बिरामी बेड र त्यसका आवश्यक अन्य उपकरण खरिद गरिने अस्पताले बताएको छ ।
२०४५ सालमा त्यतिबेलाको जनसंख्यालाई मध्यजनर गरी स्थापना गरिएको अस्पतालको संरचना अहिलेसम्म पनि उस्तै छ । बिरामीको संख्या बढ्दै गए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढेको छैन भने अस्पतालको शैया पनि उति नै छ । दैनिक एक सयदेखि ३ सयसम्म बिरामी आउने अस्पताल १५ शैयाको मात्रै छ । अस्पतालको सेवा तथा संरचनालाई समयानुकूल बनाउन नसकेका कारण बिरामीले समस्या भोग्नु परिरहेको छ ।