कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
1079

भैरहवा मेडिकल कलेजमा क्याथल्याब सेवा

रुपन्देही-युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल रानीगाउँमा मुटु रोगका बिरामीलाई लक्षित गर्दै क्याथल्याब सेवा स्थापना भएको छ ।
यसअघि मुटुरोगको सामान्य उपचार र डाइग्नोसिस मात्र हुने गरेकोमा अब मुटुको थप उपचारसमेत हुने भएको छ । अस्पतालले मुटुरोगको उपचारमा महत्वपूर्ण मानिने क्याथल्याब सञ्चालनका लागि जर्मन प्रविधिको सिमेन्स कम्पनीका उपकरण ल्याएको र यसका लागि अस्पतालले ७ करोड थप लगानी गरेको अस्पतालका मानव संंशाधन तथा लेखा प्रबन्धक कमल ढकालले जानकारी दिए । क्याथल्याबबाट मुटुको एन्जियोग्राफी, एन्जियोप्लास्टी गर्ने र पेसमेकर राख्ने काम हुन्छ । अस्पतालमा यो सेवा नहुँदा बुटवल, काठमाडौं जानु पर्दथ्यो । तर अब यहंीबाट सेवा उपलब्ध हुने भएपछि मुटुरोगका बिरामीले थप सेवा समयमै पाउने छन्, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कैलाशचन्द्रले भने ।

अब यो प्रविधि मेडिकल कलेजमै उपलब्ध भएपछि मुटु रोगको सामान्य उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । अब मुटुको एन्जियोग्राफी, एन्जियोप्लास्ट गर्ने र पेसमेकर राख्ने काम यहींबाट हुने भएकाले बिरामीहरूले समयमै उपचार पाउँछन्, जसले गर्दा बिरामीको छिटो उपचार सम्भव हुने मात्र नभई टाढा जानुपर्ने र खर्चमा समेत कमी आउने छ । विशेषगरी ह्दयघात भएका बिरामीलाई एन्जियोग्राफी र एन्जियोप्लास्टी गर्न जरुरी छ । रक्तनली बन्द भई रगत सर्कुलेसन रोकिँदा नशा फुलाएर रक्त सञ्चार गर्ने प्रविध हो एन्जियोग्राफी र एन्जियोप्लाष्ट । त्यस्तै मुटुमा राखीने यन्त्र पेसमेकर हो र पेसमेकरले मुटुको चाल बनाईराख्ने काम गर्छ । ह्ययघात(हर्ट अटैक) भएमा तुरुन्तै एन्जियोग्राफी र एन्जियोप्लास्टी गर्नु पर्दछ । त्यसैले उपचारमा समय लगाउनु हुँदैन । यो प्रविधि नहुँदा अन्यत्र लैजाँदा बिरामीको मृत्युको सम्भावना पनि बढी हुने भएकाले यो क्याथल्याब सञ्चालनले धेरैलाई सजिलो हुने मात्र नभई समयमै उपचार पाउने छन् भने पेसमेकर राख्न पनि अन्यत्र जानु नपर्ने अस्पताल प्रशासनले जनाएको छ ।
मुटुरोगकै उपचारका लागि काठमाडौको गंगालाल मुटुरोग अस्पतालसँग समेत सहकार्य गरी अघि बढ्ने तयारी गरेको छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो यो शिक्षण अस्पतालमा रुपन्देही, नवलपरासी, कपिलवस्तुका अलावा, रोल्पा, रुकुम, दांग, प्युठान, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।