कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
669

पाल्पा-जिल्लाको पूर्वीभेगमा रहेको नगरोन्मुख सहर रामपुरमा पहिलो पटक अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला सेवा सञ्चालनमा आएको छ ।
६० लाखको लगानीमा एसियन डाइग्नोस्टिक ल्याब्रोटोरी प्रालि बुटवलले विश्व स्वास्थ्य दिवसको अवसर पारेर रामपुरमा शाखा विस्तार गरी अत्याधुनिक प्रविधि र प्राविधिकसहितको सेवा सुरु गरेको हो ।

२०७४ सालदेखि बुटवल–६ तिलोत्तमा पथबाट प्रयोगशाला सेवा प्रदान गर्दै आएको ल्याब्रोटोरीले पहिलो शाखाको रूपमा रामपुर–५ हुलाकटोलबाट शाखा विस्तार गरेको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सेवा शुभारम्भ गर्दै उच्चस्तरको प्रयोगशाला नहुँदा स्थानीयमा समस्या भएकाले अब ल्याब परीक्षणबाट औषधि सेवन गर्न सहज हुने बताए ।
“ल्याब टेस्टको महत्व नबुझ्दा जथाभावी औषधि प्रयोग बढेको छ,” थापाले भने, “सचेतनासँगै अब नागरिकलाई स्वास्थ्य उपचार गराउन सहज हुनेछ । अत्याधुनिक सुविधासहितको सेवा नगरमा आउनु गौरव लागेको बताउँदै उनले अरु स्वास्थ्य संस्थासँग मिलेर स्तरीय सेवा प्रदान गर्न आग्रह गरे ।
नेपाल सरकारका पूर्वसचिव शान्ताबहादुर श्रेष्ठले स्वास्थ्य क्षेत्र व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्र भएकाले सेवा भाव सदैव झल्कनुपर्ने बताए । उनले रामपुरमा ५० शैयाको अस्पताल भवन निर्माणाधीन रहेकाले चार जिल्लाको संगममा भएकाले आगामी दिन यसले अस्पताल सञ्चालनका लागि थप टेवा दिने बताए । समाजसेवी राजुप्रसाद श्रेष्ठले रामपुरमा स्वस्थ्य क्षेत्रमा सुधारोन्मुख प्रतिस्पर्धा हुन नसक्दा टिकाउ हुन नसकेको बताउँदै अत्याधुनिक प्रयोगशाला सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले रामपुर क्षेत्रमा यस्तो सेवाले यहाँका औधोगिक विकासमा समेत टेवा पुग्ने बताए ।
ल्याब शुभारम्भको अवसरमा वैशाख पहिलो सातासम्म निःशुल्क सुगर र मृगौला जाँच, न्यूनतम शुल्कमा थाइराइड जाँच, ५० प्रतिशत छुटमा होलबडी जाँच, महिलाको स्तन, पाठेघरको क्यान्सर मार्कर टेस्ट, मुटु, कलेजोको परीक्षणजस्ता सेवा प्रदान गरिने एसियन डाइग्नोस्टिक ल्याब्रोटोरी प्रालि रामपुरका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । अत्याधुनिक प्रविधि र सेवालाई गाउँका जनताको पहँुचमा पु¥याउन शाखा विस्तार गरेको एसियन डाइग्नोस्टिक प्रालिका सञ्चालक सदस्य टोमलाल गिरिले बताए ।
ल्याब सेवाले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर जिल्लाको केन्द्रका रूपमा रामपुरमा शाखा विस्तारले प्रविधियुक्त स्वास्थ्य सेवा नभएको क्षेत्रमा ठूलो राहत मिल्ने हुँदा सेवा भावनाले स्वास्थ्यकर्मीले सेवा दिने एसियन डाइग्नोस्टिकका सञ्चालक सदस्य विनिता रेग्मीले बताइन् । ५० शैयाको रामपुर अस्पतालको भवन बन्दै गरे पनि हाल यस क्षेत्रका नागरिक सामान्य औषधि उपचारका लागि बुटवल, पोखरा, चितवन र काठमाडौं जान बाध्य छन् ।