कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
675

संखुवासभा-स्वास्थ्यमा पहुँच प-याउन संखुवासभाको शिलिचोङ र शिलिचोङ–काठमाडौं व्यवस्थापन तथा संयोजन समितिको अगुवाइमा स्ट्रेचर वितरण गरिएको छ । समितिले देश विदेशमा रहेका शिलिचोङवासीबाट संकलित ८ लाख ४१ हजार रुपैयाँमा १ सय ५० थान स्ट्रेचर खरिद वितरण गरेको हो ।
शिलिचोङ गाउँपालिकाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन बृहत् स्ट्रेचर अभियानअन्तर्गत संकलित स्ट्रेचर बुधबार शिलिचोङ–२ को बुधबारे बजारमा वितरण गरिएको हो । शिलिचोङ–काठमाडौँ व्यवस्थापन तथा संयोजन समितिका संयोजक संयोगान्त कुलुङको सभापतित्व तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकता र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो ।

सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्ने जिल्लाकै दुर्गम शिलिचोङ क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउने अभियानअन्तर्गत स्थानीयको चन्दा सहयोगमा खरिद गरिएको स्ट्रेचर वितरण गरिएको शिलिचोङ–काठमाडौँ ब्यवस्थापन तथा संयोजन समितिका अध्यक्ष समयोगान्त कुलुङले जानकारी दिए ।
जटिल भौगोलीक अवस्थाका कारण स्वास्थ्य संस्थासम्म पु-याउन समस्या हुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेकाले गाउँपालिकाका हरेक बस्ती र टोलटोलमा पुग्ने गरी स्ट्रेचर वितरण गर्नुपरेको युवा नेता मुक्तिसिंग राइको भनाइ छ । सडक यातायातको पहँुच नभएकाले सहयोगीबाट प्रदान गरिने भनिएको एम्बुलेन्स समेत गाउँमा लान नसकिएकाले स्ट्रेचर अभियान सुरु गरिएको शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।
स्ट्रेचर वितरणपश्चात शिलिचोङको माङ्तेवा, याफु, ताम्कु, बाला, सिसुवालगायतका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज हुने पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको भनाइ छ ।
स्थानिय बासिन्दाले यसअघि डोकोमा बिरामी बोकेर घण्टौंको दूरीमा रहेका स्वास्थ्य संस्था लैजानु पर्ने बाध्यता रहँदै आएको थियो । स्ट्रेचर पाएपछि वृद्धवृद्धा, बालबालिका र असक्तलाई स्वास्थ्यचौकी पु-याउन सहज हुने स्थानीय राममाया कुलुङको भनाइ छ ।