गोपाल संग्रौला
आइतवार, बैशाख १, २०७६
625

स्वास्थ्य सेवा प्रवाहका लागि विभिन्न सरकारी अस्पतालले खरिद गरेका ११ करोड रूपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा थन्किएर बसेका छन् ।
भक्तपुर अस्पताल, गुल्मी जिल्ला अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका १२ भन्दा बढी अस्पतालका लागि खरिद गरिएका ११ करोड ७८ लाख ९२ हजार रूपैयाँका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेका हुन् । करोडौ खर्च गरेर खरिद गरिएका विभिन्न १६ प्रकारका उपकरण प्रयोगविहीन हुँदा मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवाबाट लाखौं जनता बन्चित भएका छन् । यसरी प्रयोगविहीन मेसिनरी उपकरण सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभावका कारण उपयोग हुन नसकेकाले सेवा सञ्चालनमा असर परेको देखिन्छ भने उपकरण खरिदमा भएको खर्च उपलब्धिविहीन भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमोडाइलोसिसका लागि उपलब्ध १२ मेसिनमध्ये स्वास्थ्य सेवा विभागबाट गतवर्ष प्राप्त २ मेसिन सञ्चालन हुन नसकी भण्डारमा राखिएको छ । बाँकी १० मेसिनबाट दैनिक ३० जनालाई डाइलोसिस सेवा उपलब्ध गराए पनि पर्याप्त मेसिन अभावका कारण सेवा प्रवाहमा कठिनाइ भइरहेको छ । सोही प्रतिष्ठानमा ३ अप्रेसन थिएटर रहेकोमा शल्यचिकित्सा सेवाको लागि आवश्यक सिआर्म २ वटा मात्र रहेको, ओटी टेबल अत्यन्तै पुरानो भएकाले सेवा प्रदान गर्न समस्या रहेको, बच्चाको विशेषज्ञ चिकित्सक भए पनि शल्यक्रियाका लागि आवश्यक सामग्री अभावमा सेवा उपलब्ध नभएको, अप्रेसन थिएटरमा आरआरट्ली, फ्ल्यास अटोक्लेभको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी धौलागिरी अञ्चल अस्पतालमा ४ हेमोडाइलोसिस मेसिन रहेकोमा २ मात्र सञ्चालन गरी हप्तामा ६ जनालाई सेवा उपलब्ध गराएको छ । मेसिनको अभावले दैनिक २० जना बिरामी प्रतीक्षा सूचीमा बस्न बाध्य हुनुपरेको छ । स्वास्थ्य सेवा विभागले ३६ लाख ९७ हजार मूल्यका २ हेमोडाइलोसिस मेसिन उपलब्ध गराएकोमा शुरुवातदेखि नै मेसिन सञ्चालनमा रहेका छैनन् । त्यसैगरी नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा विभागले ५६ हजार ३७८ अमेरिकी डलरमा सामान खरिद गरी केन्द्रीय मेडिकल स्टोर, पथलैया पठाएको ७ हजार ५२७ वटा आइस प्याक भ्याक्सिन क्यारियर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । यसैगरी रगतसम्बन्धी विभिन्न परीक्षण गर्ने १ लाख ८२ हजार अमेरिकी डलर मूल्यको पीसीआर मेसिन सेभ द चिल्ड्रेनबाट सहयोगमा प्राप्त भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला भवनमा उपयोगविहीन अवस्थामा रहेको छ ।
स्वास्थ्य सेवा विभागले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका उपकरण मर्मतसम्बन्धी सम्झौता गरेको र तोकिएको समयमा मर्मत कार्य नगरेका कारण पनि उपकरण प्रयोगमा नआएका हुन् । मेची अञ्चल अस्पतालका लागि स्वास्थ्य सेवा विभागबाट ३३ लाख ३६ हजार रूपैयाँको नवजात शिशु सघन उपचार कक्ष सञ्चालन गर्न उपकरण दिएको भए पनि जनशक्ति र स्थानको अभावले उपकरण जडान गरी प्रयोगमा ल्याएको छैन ।
हेटौंडा अस्पतालको स्तरवृद्धि गर्न ३०० शैया थप गर्ने क्रममा खरिद वा प्राप्त गरेका १० प्रकारका २४ लाख ८३ हजार मूल्य बराबरको उपचारका उपकरणहरू नियोनेटल भेन्टिलेटरलगायत अस्पतालमा प्रयोगविहीनरूपमा भण्डारमा रहेको महालेखा प्रतिवेदनमा उल्लेख छ । ती सामग्रीमध्ये विभागबाट प्राप्त इन्प्यान्टोमिटरको मूल्य खुलेको छैन । “कान्ति बाल अस्पतालमा रहेको ४ करोड ५४ लाख मूल्यको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रने कारणले मासिक २ हजार २०० बिरामीलाई अन्यत्र पठाउनु परेको अवस्था छ,” प्रतिवेदनमा उल्लेख छ, “राप्ती अञ्चल अस्पतालमा विगतदेखि अर्थोपेडिक तथा आईसीयू उपकरण र एनआईसीयू, सीटी स्क्यान, इण्डोस्कोपी मेसिन रहेकोमा व्यवस्थापकीय कमजोरी र दक्ष जनशक्तिको अभाव देखाई विगत वर्षदेखि सञ्चालनमा नै ल्याएको छैन ।” सोसम्बन्धी सेवा उपलब्ध नगराई बिरामीलाई अन्यत्र सिफारिस गरिँदै आएको छ ।
महाकाली अञ्चल अस्पतालका लागि अटोमेटेड हेमाटोलोजी एनालाइजर, इसीजी मेसिन, पेसेन्ट मोनिटर, ओटी टेबुल, पोर्टेबल एक्सरे मेसिनसमेत ३१ प्रकारका उपकरण खरिद गर्न २ करोड २५ लाख रूपैयाँ बजेट व्यवस्था भएको देखियो । गत आर्थिक वर्र्ष कोशी अञ्चल अस्पतालले १०० थान मेमोग्राफी खरिद गरी ४७ लाख ५८ हजार रूपैयाँ खर्च गरेको देखिन्छ । सो मेसिन सञ्चालनका लागि सीआर सिस्टम नभएको कारणले सञ्चालन हुन सकेको छैन ।