कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५
755

हात्तीपाइले रोगविरुद्धको औषधि सबैले प्रयोग नगर्दा आठ वर्षअघिबाट शुरु गरिएको हात्तीपाइले रोग विरुद्धको अभियान बाँकेमा सफल हुन सकेको छैन । हरेक वर्ष औषधी खुवाउने अभियान सञ्चालन गरिएपनि धेरैले औषधी नखाँदा सो अभियान असफल हुँदै गएको र जिल्लाका अधिकांश सर्वसाधारण संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
लामखुट्टेबाट सर्ने हात्तीपाइले रोग नियन्त्रणका लागि शतप्रतिशतले औषधि प्रयोग गर्नुपर्ने जनाउँदै औषधि नखाने व्यक्तिका कारण औषधि प्रयोग गर्नेहरु पनि जोखिममा परेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेकी भेक्टर कन्ट्रोल सहायक दुर्गा गौतमले बताइन् । रोग लागेका व्यक्तिबाट लामखुट्टेले अर्कोमा सार्न सक्ने खतरा रहेकोले रोग लागेकाले औषधी नखाँदा रोग नलागेकाहरु पनि जोखिममा रहेको गौतमको भनाइ छ ।

“बाँकेका केही गाउँमा छोराछोरीले खाने र बुबाआमाले नखाने गरेको पाइएको छ । त्यसैले औषधि खाएका व्यक्ति पनि जोखिममै रहने गरेका छन्,” स्वास्थ्य कार्यालय बाँकेकी भेक्टर कन्ट्रोल गौतमले भनिन्, “एउटाको लापरबाहीले अर्को स्वस्थ व्यक्ति पनि संक्रमणको खतरामा छ ।” परिवारका सबैले औषधिको प्रयोग नगर्दा २०६७ सालदेखि सुरु गरिएको अभियान हालसम्म पनि सफल हुन नसकेको स्वास्थ्य कार्यालयको भनाइ छ । गत वर्ष बाँकेमा ६६ प्रतिशतले औषधि प्रयोग गरेका थिए । बाँकीले औषधि प्रयोग नगरेपछि अभियानले पूर्णता पाउन नसकेको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम औषधि प्रयोग गरेको पाइएको छ । गत वर्षको अभियानमा उपमहानगरमा ५४ प्रतिशतले मात्र औषधि प्रयोग गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाको रझेनामा पनि निकै कमले औषधि प्रयोग गर्दै आएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधिले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भ्रमका कारण धेरैले औषधी खान मानेका छैनन् । चिकित्सकका अनुसार औषधिका कारण नभई हात्तीपाइलेको जीवाणु मार्ने क्रममा फालेको रसायनले केही समस्या देखिने गरेको छ । “त्यस्तो समस्या देखियो भने सम्झिनुस्, हात्तीपाइलेका जीवाणु मरेको हो । औषधि प्रयोगपछि जीवाणु मर्दा सामान्य असर देखिन्छ । औषधिले असर गरेको होइन,” भेक्टर कन्ट्रोल सहायक गौतमले भनिन्, “डराउनुपर्ने अवस्था छैन ।”
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेमा १३ प्रतिशत हात्तीपाइलेका बिरामी भेटिएका छन् । हात्तीपाइले रोग निवारणका लागि बर्सेनि एक करोडको हाराहारीमा खर्च हुने गरे पनि औषधि प्रयोग नगर्नेको संख्या बढी छ । उक्त रोगविरुद्धको डाइइथाइल कार्बामजिन नामक औषधिको प्रयोग गर्ने व्यक्ति हात्तीपाइलेको संक्रमणबाट जोगिने स्वास्थ्यकर्मीको भनाइ छ ।
यस वर्ष पनि अहिले सो रोगको औषधी खुवाउने काम भइरहेको छ । १० दिनका लागि सञ्चालन गरिएको अभियान अहिले जारी छ ।
तर, यस वर्ष पनि नेपालगन्जमा धेरै कमले औषधी खाएको पाइएको छ । धेरैले औषधी लिने तर नखाने गरेको देखिएको स्वास्थ्यकर्मीले जनाएका छन् । यस पटक सो औषधी खुवाउने जिम्मेवारी जनप्रतिनधिलाई दिइएपनि खासै प्रभावकारी हुनसकेको देखिएको छैन ।